तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छाैँ : मन्त्री पाण्डे

 संवाददाता    २०८२, २२ श्रावण बुधबार १४:२२     231 जनाले पढ़िसके



Spread the love

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेस गर्ने बताएका छन् ।

बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताएका हुन् ।

मन्त्री पाण्डेका अनुसार यसअघि ४७ औँ बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने नेपाल सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन सकेन।

उनले भने, “भारतले प्रस्तावित स्थलका सम्बन्धमा ३३ बुँदे असहमति राखेको थियो, जसका कारण प्रक्रिया जटिल भयो। तर नेपालसँग तिलौराकोटको ऐतिहासिकता पुष्टि गर्ने पर्याप्त प्रमाणहरू छन्, अब समस्या आउँदैन।”

मन्त्री पाण्डेले लुम्बिनीलाई युनेस्कोको ‘खतरा सूची’मा पर्न नदिन भारतले सहयोग पुर्‍याएको तथ्य समेत सार्वजनिक गरे ।

यद्यपि लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै उहाँले केही सुधारात्मक कामहरू अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।