उपचार गराउन बंगलादेशबाट नेपाल आए बिरामी

 संवाददाता    २०८२, २२ श्रावण बुधबार ११:०८     250 जनाले पढ़िसके



Spread the love

बंगलादेशका मुस्तफालाई लामो समयदेखि ढाड दु्ख्ने समस्या थियो । स्वदेशकै अस्पतालमा नाम चलेका डाक्टरसँग उपचार गराउँदा पनि निको नभएपछि छिमेकी मुलुक भारतको कोलकातासम्म पुगे । तैपनि समस्या उस्तै भएपछि झोला बोकेर सिधै काठमाडौंको टिकट काटे ।

आएको दिन होटलमा बसे । भोलिपल्ट बिहान होटलबाट चेक आउट गरेर ब्यागसहित सिधै नर्भिक पुगेर ओपीडीमा नाम दर्ता गराए ।

नेपाली, हिन्दी र अंग्रेजी राम्ररी नआउने बिरामी ओपीडीमा देखेपछि डा. राजीव झालाई अनौठो लाग्यो । कुरा गर्दै जाँदा थाहा भयो, उनी बंगलादेशबाट उपचार गराउन नर्भिक आएका रहेछन् । उनले उपचार गराउने क्रममा आफूले अस्पताल चहारेको सबै कथा सुनाए ।

डा झाले परीक्षणबाट थाहा पाए–उनी क्रोनिक ब्याक पेन अर्थात् ढाड दुख्ने समस्याबाट पीडित रहेछन् ।
एमआरआइमा पनि नसा च्यापिएको देखियो। त्यसपछि डा झाले उपचार सुरु गनुरे–फिजियोथेरापी गराए र ट्रान्सफोरामिनल ब्लक इन्जेक्सन लगाए । उपचार गर्दै जाँदा उनको दुखाई पूर्ण रुपमा हरायो । अहिले उनी डिस्चार्ज भइसकेका छन्

मुस्तफाले नर्भिकमा उपचारपछि लामो समयदेखिको पीडाबाट मुक्त भएकोमा खुसी व्यक्त गरे ।
‘उपचारपछि पीडामु्क्त हुँदा उहाँ निकै खुसी देखिनु भएको थियो,’ डा झाले भने, ‘विशेषगरी दक्ष चिकित्सक, प्रविधिलगायतका कारण नेपालको स्वास्थ्य सेवाप्रति दक्षिणपूर्वी एशिया क्षेत्रकै नागरिकको विश्वसनीयता बढ्दै गएको छ ।’

डा. झाले दक्ष चिकित्सक तथा अत्याधुनिक विश्वस्तरीय प्रविधिका कारण नेपाल पनि भारतजस्तै मेडिकल हबको रुपमा विकास हुने दिशातिर गइरहेको दाबी गरे ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार नर्भिकबाट बंगलादेशमात्र होइन, सातवटै महादेशका ३० देशका नागरिकले उपचार सेवा लिइसकेका छन् ।