नेप्सेले तोड्यो २९०० को सपोर्ट जोन, ६३ अङ्कले बजार घट्दा १३ अर्बको कारोबार

 संवाददाता    २०८२, १९ श्रावण आईतवार १६:१०     188 जनाले पढ़िसके



Spread the love

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ ।

आइतबार बजार ६३‍.७३ अङ्कले घटेर २८५८.९० अङ्कमा झरेको हो । अघिल्लो दिन २९२२ अङ्कमा बन्द भएको बजारले २७८० देखि २९०० सम्मको सपोर्ट जोन कायम गरेको थियो । यसलाई तोड्दै बजार तल झरेको हो ।

बजारमा आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन १५ अर्ब माथिको कारोबार भएको थियो । यसले नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ ।

आज कारोबारमा आएका कुल कम्पनीमध्ये जम्मा १६ वटा कम्पनीको मूल्य बढ्दा २३३ कम्पनीको मूल्यमा गिरावट आएको छ । यसले बजारमा बिक्री चाप अत्यधिक रहेको देखाउँछ ।

आज बजारका सबै समूहका परिसूचक घटेका छन् । अन्य र माइक्रोफाइनान्स समूहमा ३ प्रतिशत भन्दा बढीको गिरावट छ । बैंकिङ, जीवन बीमा, इन्भेष्टमेन्ट र उत्पादनमूलक कम्पनीको सूचक पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अगाडि छ। उक्त कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ र त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख र हिमालयन डिष्टिलरीको ५८ करोड ८२ लाखको कारोबार भएको छ ।

आज बजारमा ट्रेड टावर र शिवश्री हाइड्रोको शेयरमा सकारात्मक सर्किट लाग्दा सान्भी इनर्जी र समता घरेलु लघुवित्तमा नकारात्मक सर्किट लागेको छ ।