ललितपुरको ठैवमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर–१४ स्थित ठैवमा निरोज कुमार खड्गीले ४६ वर्षीया श्रीमती सुस्मिता खड्गीको हत्या गरेका हुन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ थानकोट घर भएका ४६ वर्षीय निरोज कुमार खड्गी पत्नीसँग ठैवमा टहरो बनाएर बस्दै आएका थिए । आइतबार बिहान ६ बजेतिर घटनाबारे सूचना आएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । प्रहरीले हत्यामा संलग्न आरोपमा निरोज कुमार खड्गीलाई पक्राउ गरेको छ ।
सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको एसएसपी अधिकारीले जानकारी दिए । घटनाबारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
निरोजले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आपसी विवाद हुँदा उनले हत्या गरेको थाहा भएको छ । घटनास्थल प्रहरी प्रभाग बाँडेगाउँबाट २ किलोमिटर उत्तरतर्फ पर्छ ।