सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हमासले हतियार नबिसाउने

 संवाददाता    २०८२, १९ श्रावण आईतवार १०:२९     206 जनाले पढ़िसके



Spread the love

हमासले सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नबिसाउने स्पष्ट पारेको छ । इजरायलले द्वन्द्व अन्त्य गर्न कुनै पनि सम्झौताका लागि हमासलाई निशस्त्र पार्नु महत्त्वपूर्ण शर्तमध्ये एक मान्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टीव विट्कोफले ‘हमासले हतियार बिसाउन इच्छा व्यक्त गरेको’ भन्ने भनाइपछि प्यालेस्टिनी सशस्त्र समूहले यो जवाफ दिएको हो।

इजरायल र हमासबिच युद्धविराम र बन्धकहरूको रिहाइका लागि भएको अप्रत्यक्ष वार्ता गत हप्ता रोकिएको थियो। विगत केही दिनमा, फ्रान्स र क्यानडासहित केही पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना घोषणा गरेपछि, अरब सरकारहरूले हमासलाई हतियार त्याग्न र गाजाको नियन्त्रण सुम्पन आग्रह गरेका छन्। बेलायतले इजरायलले सेप्टेम्बरसम्म केही सर्त पूरा गरेमा यस्तै गर्ने बताएको छ।

अमेरिका, बेलायत र युरोपेली संघमा प्रतिबन्धित समूह हमासले आफ्नो विज्ञप्तिमा ‘जेरुसलेमलाई राजधानी बनाएको एक स्वतन्त्र, पूर्ण सार्वभौम प्यालेस्टिनी राज्य’ स्थापना नभएसम्म ‘प्रतिरोध र हतियारको’ अधिकार त्याग्न नसक्ने बताएको छ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का लेफ्टिनेन्ट जनरल इयाल जमीरले शुक्रबार वार्तापछि पनि हमासले राखेका बन्धकहरूलाई छिटो रिहा गर्न नसके गाजामा लडाइँमा कुनै राहत नहुने चेतावनी दिए।

शनिबार, हमासले बन्धक रहेका एवियातर डेभिडको एक भिडियो जारी गरेको थियो, जसमा उनी एक सुरुङमा, नग्न र निकै दुब्लाएको देखिन्थे।