गुरुप्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित रहेर बन्न लागेको सोही नामको फिल्मको शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् ।
‘जुठे दमाई’ नामक पात्रको रोलमा सौगात देखिन लागेका हुन् । यसअघि यो भूमिकामा अभिनेता जितु नेपाल अनुबन्धित भएका थिए । दशैंमा छायांकन गर्दा आफूले समय दिन नभ्याउने भएपछि फिल्म छाडेको जितुले बताए ।
सौगातको प्रवेशसँगै कलाकारको लाइनअप पुरा भएको छ । सुशील पोखरेलको लगानीमा बन्ने फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्धित भैसकेका छन् ।
फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत रहनेछन् । संगीतकारमा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुत रहनेछन् ।
छायांकन भदौ २६ गतेदेखि म्याग्दीबाट सुरु हुने जनाइएको छ । छायांकन संकल्प भुजेलले गर्दैछन् । रामजी लामिछाने नृत्य निर्देशन, सुशील देवकोटाको लेखन र सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिङ, संकल्प भुजेलको छायांकन र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजर छन् ।
मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा यसअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए ।