नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ बजे बस्ने बैठकका लागि माओवादीले एजेन्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेन्डा तय गरेको थियो ।
पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा निकै चासोपूर्वक हेरिएको छ । नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो ।बुधबारको बैठकमा सचिव लीलामणि पोखरेलले पार्टीको आन्तरिक विवाद बाहिर पोखिन पुगेको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउँदै कसरी अन्तरविरोध हल गर्ने भनेर प्रश्न गरेका थिए ।
पोखरेलको प्रश्नको जवाफ दिँदै प्रचण्डले स्थायी समिति बैठक नै बोलाइसकेको अवस्थामा अन्तरविरोधबारे कुनै छलफल नहुने बताएका थिए । अन्तरविरोध सम्बन्धमा एजेन्डाकै रूपमा प्रस्ताव गर्ने भनिए पनि यस विषयमा कुनै छलफल नभएको संस्थापन पक्षका एक नेताले बताए ।
ती नेताका अनुसार पार्टीले तय गरेको एजेन्डा बाहेक अन्य कुनै तयारी नभएको स्पष्ट पारे । पछिल्लो केन्द्रीय समिति बैठकले हल गरेको विषयलाई उपमहासचिव शर्माले विवादको रूपमा बाहिर ल्याएकोमा असन्तुष्टि पोखे ।
‘केहि नेतालाई विधि, विधानको कुनै मतलब छैन । थर्काएर हुन्छ वा के गरेर हुन्छ आफ्नै अडान लाद्न खोज्ने प्रवृत्ति छ । त्यो प्रवृत्ति तोड्नुपर्छ । पछिल्लो केन्द्रीय समिति बैठकले अन्तरविरोध हल गरेको थियो । उठाएका मागहरू पुरा भएकै थिए । तर, बाहिर लगेर जसरी विवादलाई छताछुल्ल पारिएको छ, त्यो गलत हो । स्थायी समिति बैठकले नै अन्तरविरोध व्यवस्थापन गर्छ’, ती नेताले भने ।
गत वर्ष साउन २६ गते स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे प्रस्ताव पेस गरेका थिए । शर्माको प्रस्तावलाई पुस २० देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै उपमहासचिव शर्माले असन्तुष्टि जनाउँदै आएका छन् । शर्मा निकट एक नेताका अनुसार अघिल्लो एजेन्डा नै बाँकी रहेकाले यो पटक थप प्रस्ताव लैजाने तयारी देखिँदैन ।
‘अघिल्लो स्थायी समितिमा प्रस्ताव गरेको एजेन्डा नै कार्यान्वयन भएको छैन । थप प्रस्ताव लगेर के अर्थ छ र ? पहिला सबैको कुरा सुनिन्छ । त्यसपछि के हुन्छ त्यतिबेलै कुरा हुन्छ । अहिले छुट्टै प्रस्ताव लैजाने कुनै तयारी छैन’, शर्मा निकट ती नेताले भने ।
पदाधिकारी बैठकले हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्ने, मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेन्डा बनाएको छ ।
यस्तै समाजवादी मोर्चालाई थप विस्तार गर्ने, सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसद्मा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेन्डा बनेको छ ।
यद्यपि केन्द्रीय समिति बैठक कार्तिकमा मात्र बस्ने सचिव चक्रपाणि खनालले जानकारी दिए । भदौमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको बाँकी काम सक्ने र त्यसलगत्तै दशैँ–तिहार जस्ता चाडपर्व भएकाले कार्तिकतिर बैठक बस्ने उनले बताए ।
‘भदौमा अभियान सम्पन्न गर्ने भनिएको छ । असोजमा दशैँतिहार लगायत चाडपर्व पर्छ । त्यस हिसाबले कात्तिकतिर बैठक बस्छ । सोही बैठकले महाधिवेशनको मिति घोषणा गर्छ’, उनले भने ।
उपमहासचिव हरिबोल गजुरेलले शर्माले माग गरेको जस्तो विशेष महाधिवेशन भन्दा पनि केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन बोलाउने बताए ।
‘नियमित महाधिवेशन गर्ने बेलामा विशेष महाधिवेशनको कुनै अर्थ छैन । आजदेखि बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउँछ । सोही बैठकले नियमित महाधिवेशन बोलाउँछ’, उनले भने ।