जमिन खाली छ तर युवा काम पाएन भन्दै विदेश जानेक्रम बढ्यो : महासचिव पोखरेल

 संवाददाता    २०८२, १६ श्रावण बिहीबार १२:२४     263 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको तर्क गरेका छन् ।

बिहीवार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताएका हुन् ।

 

‘नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा एक किसिमको समस्या उत्पन्न हुन थालेको छ’ उनले भने, ‘खासगरी पहाडमा जमिनहरू बाँझै रहने र युवाहरू रोजगारीको लागि विदेशिनुपर्ने जुन प्रकारको अवस्था छ, त्यसलाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्दछ ।’

महासचिव पोखरेलले युवालाई कृषि कर्ममा लगाउनसके धेरैले स्वदेशमै रोजगारी पाउने बताए । नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्नसक्ने बताए ।

 

‘हाम्रो समाजमा कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन सकिरहेका छैनन्’ उनले भने, ‘अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ ।’

कुनैपनि मुलुकलाई समृद्ध बनाउन कृषि महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्दै पोखरेलले भने, ‘कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्दछ । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको विकास ति सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक छ ।’

बहुसंख्यक जनंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न नसके नेपालको आर्थिक विकास चुनौतीपूर्ण बन्ने उनको तर्क छ ।

महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताए ।

उनले मधेस प्रदेश सुख्खाग्रस्त बनेको भन्दै सरकारले विभिन्न योजनासहित काम गरिरहेको बताए ।