वागमती सेवा समाजद्वारा पाँच दिनदेखि निःशुल्क पानी वितरण, झन्डै १६ सय घरधुरी लाभान्वित;

 संवाददाता    २०८२, १४ श्रावण मंगलवार १४:११     286 जनाले पढ़िसके



Spread the love

प्रेमनाथ पौडेल; सर्लाही जिल्लामा रहेको वागमती सेवा समाज नेपालले हालको भीषण खडेरी र पानी संकटको समयमा पाँच दिनदेखि निःशुल्क खानेपानी वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। समाजले नेपाल सरकार, मधेश प्रदेश सरकार तथा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको आह्वानमा, हरिपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड, नेपाल सरकारका विभिन्न निकाय तथा अक्सफामको सहयोगमा सो कार्यक्रम सञ्चालन गरेको हो।

हरिवनस्थित कार्यालयबाट समन्वयमा भएको यो पहल अन्तर्गत हालसम्म सर्लाही जिल्लाका मलंगवा, ब्रम्हपुरी लगायतका पालिकामा निःशुल्क पानी वितरण गर्दै झण्डै १६ सय घरधुरीलाई राहत प्रदान गरिएको वागमती सेवा समाजले जनाएको छ। पाँच दिनको अवधिमा मात्रै अनुमानित १,१४५ घरधुरीले पानीको सहज पहुँच पाएका छन्।

मधेश प्रदेशमा देखिएको खडेरी र त्यसबाट उत्पन्न पानीको चरम अभावले समग्र सर्लाही जिल्ला र दक्षिणी पालिकाहरू प्रभावित भएका छन्। यस्तो संकटको बेलामा वागमती सेवा समाज र अक्सफामको सहकार्यमा गरिएको यो पहल तत्कालीन राहतका लागि निकै महत्वपूर्ण सावित भइरहेको छ। तर दीगो समाधानको लागि आवश्यक पहल नहुँदा स्थानीय तहमा गहिरो चिन्ता उत्पन्न भएको छ।


यस सन्दर्भमा ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीले समाजका प्रतिनिधिहरूसँगको छलफलमा ब्रम्हपुरीमा रहेको पानीको मुख्य आपूर्ति प्रणाली—पाइपलाइन प्रणाली—मा ठुलो समस्या नरहे पनि ट्युववेल प्रणालीमार्फत हुने आपूर्तिमा भने ठूलो समस्या देखिएको जानकारी दिनुभयो। उहाँका अनुसार ब्रम्हपुरी गाउँपालिकामा साना ३ वटा खानेपानी आयोजना भए पनि प्राविधिक तथा व्यवस्थापकीय कमजोरीका कारण ती सबै लामो समयदेखि बन्द रहेका छन्। ती आयोजनालाई पुनः सञ्चालन गर्न आवश्यक सहयोगको अपिल समेत उहाँले गर्नुभयो।

स्थानिय वडाध्यक्ष तथा पालिका प्रमुखहरूले समेत दीर्घकालीन खानेपानी व्यवस्थापनतर्फ सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै, हाल भइरहेको वितरणलाई थप व्यवस्थित, प्रभावकारी र निरन्तरता दिनु पर्नेमा जोड दिएका छन्।

वागमती सेवा समाजको यो पहलले तत्काल संकट टार्न योगदान पुर्‍याए पनि, खानेपानीको स्थायी समाधानका लागि सरकार, दातृ निकाय र सरोकारवालाबीच थप समन्वय आवश्यक रहेको स्थानीयवासीहरूको भनाइ छ।