सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विद्यालयको बसले किच्दा एक बालिकाको मृत्यु भएको छ ।
सोमबार अपराह्न विद्यालय छुट्टीपछि घर फर्कने क्रममा बसबाट ओर्लिएकी ५ वर्षीया आशिका महतोलाई सोही बसको पछाडिको चक्काले किचेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको मप्र ०३–००१ क २५४२ नम्बरको बसले विद्यार्थीहरूलाई घर छाड्ने क्रममा यो घटना भएको हो ।
ब्रह्मपुरी गाउँपालिका–७ मोहनगञ्जमा बसबाट ओर्लने क्रममा सोही विद्यालयमा अध्ययनरत स्थानीय रमेश महतोकी छोरी आशिकालाई बसको पछाडिको चक्काले किचेको थियो ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकी बालिकालाई तत्काल उपचारका लागि बयलबासस्थित जीवन नारायण अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई साँझ ४ः४० बजे मृत घोषणा गरेको थियो ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ। घटनालगत्तै बस चालक भने फरार भएका छन् । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट दुर्घटनाग्रस्त बसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाको अनुसन्धानका लागि नोकेल्वा, भक्तिपुर र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।