पर्साको वीरगञ्ज आसपापसमा आइतबार दिउँसो मुसलधारे वर्षा भइरहेको छ । लामो समयपछि वीरगञ्जमा पानी परिरहेको हो । वर्षासँगै स्थानीयवासीले गर्मीबाट राहत महसुस गरेका छन् ।
लगातारको गर्मी, खडेरी र पानीको अभावबिच आजको वर्षाले कृषि तथा जनजीवनमा टेवा पुगेको छ । वर्षायामको मध्य समयमा समेत वर्षा हुन सक्दा मधेसका सबै ठाउँमा रोपाइँ हुन सकेको थिएन भने रोपिएको धानसमेत खडेरीले सुक्दै जान थालेका थिए ।
वीरगञ्जलगायत रौतहट, बाराका केही स्थानहरूमा खानेपानीको समेत हाहाकार देखिएको थियो । आज परेको वर्षालाई वीरगञ्जका स्थानीय महम्मद फखरुद्दिनले ‘आशाको पानी’ भएको बताएका छन् ।
यसैबिच सरकारले साउन ७ गते मधेस प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
