गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य बन्नुपर्छ : अर्थमन्त्री पौडेल

 संवाददाता    २०८२, १० श्रावण शुक्रबार १६:२५     143 जनाले पढ़िसके



Spread the love

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदहमा झन्डै ८० अर्ब रुपैयाँको लागतमा निर्माण हुने पूर्वाधार गुरुयोजना सार्वजनिक गरेका छन्।

रुपन्देहीको लुम्बिनीमा बिहीबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्री पौडेलले गुरुयोजना सार्वजनिक गर्दै विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

‘शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै लुम्बिनीलाई शैक्षिक गन्तव्य बनाउनु अहिलेको आवश्यकता हो,’ मन्त्री पौडेलले भने, ‘गुरुयोजनाको कार्यान्वयनमा विश्वविद्यालयले तदारुकता देखाउनुपर्छ, सरकारले हर सम्भव सहयोग गर्नेछ।’

सरकारले २०७७ सालमा विश्वविद्यालयलाई देवदहमा करिब ९२ बिघा जमिनको भोगाधिकार दिएको थियो। सोही क्षेत्रलाई समेटेर तयार गरिएको गुरुयोजनालाई असार ३२ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आठौँ सभा बैठकले स्वीकृत गरेको हो।

मन्त्री पौडेलले विश्वविद्यालयमा बौद्ध दर्शनसँगै अन्य शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै लुम्बिनी र गौतम बुद्धको नाममा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको ब्रान्डिङ गर्न निर्देशन दिए।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले त्रिपिटक पार्क र देवदह शिक्षा विकास परियोजनाजस्ता कार्यक्रममार्फत शैक्षिक पर्यटन प्रवर्द्धन गर्न लागेको जानकारी दिए।

रजिष्ट्रार डा.तिलकराम आचार्यले देवदहको जग्गा प्राप्तिमा आएको चुनौतीको स्मरण गर्दै गुरुयोजनाको कार्यान्वयनपछि विश्वविद्यालय मुलुककै नमुना शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

सो अवसरमा विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाख रुपैयाँको लागतमा एक सय जना क्षमताको अन्तर्राष्ट्रिय छात्रावास निर्माणको घोषणा पनि गर्‍यो। निर्माण कार्य २० महिनाभित्र सम्पन्न हुने लक्ष्य लिइएको छ।

हाल विश्वविद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन्, जसमध्ये २ सयभन्दा बढी विदेशी नागरिक रहेको विश्वविद्यालयले जनाएको छ।