सुर्खेतबाट जुम्लाका लागि छुटेको फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा चालकसहित २३ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शुक्रबार बिहान १० बजे दुल्लु नगरपालिका-१ स्थित डुङ्गेश्वर बजार नजिकै उकालोमा गाडी दुर्घटनामा परेको हो।
कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको उक्त गाडीलाई चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ का २५ वर्षीय दया प्रसाद न्यौपानेले चलाएका थिए।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार, उकालो बाटोमा रोकेर यात्रु झार्ने क्रममा गाडी पछाडि सरेर (ब्याक भई) सडकबाट करिब १५० मिटर तल खसेको थियो।
दुर्घटनामा परेका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा कालिकोट तिला गाउँपालिका-१ का ६५ वर्षीय मान बहादुर जिसी र ३५ वर्षीया मंगली बुढा रहेका छन्।
उनीहरूको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुने अन्यमा कालिकोट जिल्लाका विभिन्न ठाउँका यात्रुहरू रहेका छन्। घाइते हुनेहरूमा तिला गुफा नगरपालिका-१ का १४ वर्षीय हिक्मत जिसी, खाँडाचक्र नगरपालिका-६ की १६ वर्षीया सिता शाही, सोही नगरपालिका-१ की १४ वर्षीया बिनिता शाही, शुभकालिका गाउँपालिका-६ की २६ वर्षीया माया रिजाल, ३८ वर्षीय दान बहादुर खत्री, ३९ वर्षीय जंग बहादुर रावत र ३६ वर्षीया ज्योति रावल रहेका छन्।
त्यस्तै, दैलेखको आठबिस नगरपालिका-६ का २६ वर्षीय पदम विक, अछामको विनायक नगरपालिका-१ का ५८ वर्षीय मट्टी कामी र २२ वर्षीया कौशी विक, पनि घाइते भएका छन्।
दुर्घटनामा जुम्लाको तिला गाउँपालिका-३ का २३ वर्षीय विशाल शाही, सोही गाउँपालिका-८ का १८ वर्षीय रतन रोकाय र वडा नम्बर-१६ का १६ वर्षीय विशाल शाही तथा तातोपानी गाउँपालिका-६ का २५ वर्षीय नरेश पराजुली घाइते भएका छन्
यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका-१२ की ३२ वर्षीया तुलसा थापा र रामेछापको सुनपाति गाउँपालिका-२ का ४० वर्षीय प्रेम कुमार तामाङ पनि घाइतेको सूचीमा छन्। दुर्घटनामा एक ४ वर्षीया बालिका मेलीना विक समेत घाइते भएकी छिन्। अधिकांश घाइतेहरूको अवस्था मध्यम तथा सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटना लगत्तै घटनास्थलमा प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक सोनु विककाे कमाण्डमा प्रहरी टोली खटिएर उद्धार कार्य गरेको थियो। घाइतेहरूलाई तत्काल स्थानीय मेडिकलमा सामान्य उपचार गराइएको थियो। थप उपचारका लागि पाँच जनालाई सुर्खेत पठाइएको र अन्य घाइतेहरूलाई पनि उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।