रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित भेरी नदीमा मङ्गलवार बेलुका टिपर खस्दा बेपत्ता भएका तीन जनाको अवस्था तेस्रो दिन बित्दा पनि अज्ञात रहेको छ । दुर्घटनामा परेका उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै सुइँको फेला पर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि पुनका अनुसार बेपत्ता हुनेमा टिपर चालक दाङका ३५ वर्षीय मणिराम चौधरी, रुकुम पश्चिम सानी भेरी गाउँपालिका–३ का धनवीर बस्न्याल र रुकुम पूर्व सिस्ने गाउँपालिका–८ का २१ वर्षीय हरि विक रहेका छन् ।
मङ्गलवार बेलुका आठबिसकोट नगरपालिका–१४, पिपल चौरस्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्डमा उक्त दुर्घटना भएको हो । चिसापानीबाट छेपारेतर्फ जाँदै गरेको यत्ति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल भेरी नदीमा खसेको थियो ।
प्रहरी र स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् । घटनाको भोलिपल्ट बुधबार दुर्घटनास्थलबाट करिब डेढ किलोमिटर तल आठबिसकोट–१४ छेपारेमा टिपरको अगाडिको क्याबिनको भाग फेला परेको थियो ।
र, टिपरमा सवार तीनै जनाको अवस्था भने अज्ञात नै रहेको प्रहरी निरीक्षक पुनले बताए । नदीमा पानीको बहाव बढी भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको र प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।