अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित भएका छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।
फिल्मका लागि यसअघि दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने अनुबन्धित भएका थिए ।
अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ। यस फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशक मगरले बताए ।
फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माता सुपरहिट फिल्म ‘घरज्वाइँ’ निर्माता जनक घर्तीमगर हुन् ।निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो।
फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन्। ‘जिएम मुभिज प्रोडक्सन प्रा।लि।’को ब्यानरमा निर्माण हुने यो फिल्म मङ्सिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन हुनेछ ।
निर्माण पक्षका अनुसार फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।