काठमाडौं । सुर्खेत घर भई भक्तपुर बस्ने दुई दिदीबहिनीले झुण्डिएर आत्महत्या गरेका छन् । भुईं तलामा बस्ने दुईबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।
जिल्ला प्रहरीका कार्यालय भक्तपुरका अनुसार कँडेल थरका वर्ष १५ र १७ का दिदीबहिनी एउटै मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारमा डेरामा नै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप बुझ्ने काम भइरहेको छ ।
उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको र कलंकीमा आन्टीहरु बस्ने गरेको उनले बताए । उनीहरू केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ ।
उनीहरू केही सयमदेखि त्यो घरमा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ। ‘डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो,’ डीएसपी न्यौपानेले भने, ‘अहिले प्रहरी घटनास्थलमा पुगेको छ, थप अनुसन्धानको काम हुँदैछ।’
पञ्चपुरी नगरपालिका–८ का वडाध्यक्ष दिपककुमार थापाले शव फेला परेका दिदीबहिनी आफ्नै वडाको तिनकुने दुलालथाइ गाउँका भएको जानकारी दिए।
वडाध्यक्ष थापाले भने, ‘ती दिदीबहिनीका बुवाको नाम बालाराम (बासुदेव) कँडेल हो। उनी श्रीमतिसँगै रोजगारीको लागि भारतमा बस्दै आएका छन्। ती दिदीबहिनीका दुई वटा अंकल चाँही कोरियामा छन्।’
वडाध्यक्ष थापाले उनीहरु केही समय अघि भारतबाटै हराएको खबर आफुले पाएको जानकारी दिए।
मृतक दिदीबहिनीकी आमा उमा कँडेलले तीन साता अघि छोरीहरु भारत मुम्बईको मिरा भाईन्दरबाट हराएको भन्दै सिगास टेलिभिजनलाई अन्तरवार्ता दिएकी थिइन्।
उमा कँडेलले त्यहाँ अन्तरर्वातामा छोरीहरु कम्प्युटर क्लास जान्छु भनेर घरबाट निस्किएको बताएकी छन्। उनले भनेकि छन्, ‘घरबाट कम्प्युटर कक्षा जान्छु भनेर निस्केका हुन्। कम्प्युटर कक्षाबाट घर आउँने समय ७ बजे हो। सात बज्येसम्म हेर्यौं। घर नआएपछि फोन गरेँ तर, लागेन्। कक्ष्ााँमा भएको बेला फोन नलागेको होला भनेर भ्वइस म्यासेज छोडेँ। बाबु घर आएर रोटी बनाउनु, खाना पकाउनु म काममा गएँ भनेर।’
त्यसपछि उनीहरुले पनि भ्वाइस म्यासेज पठाउँदै भनेका थिए, हामी यहाँ छैनौँ। ब्यङ्लोर गयौँ। हामी पैसा कमाएपछि तपाईंलाई भेट्छौँ। त्यहाँ भन्दा अगाडी भेट्न सक्दैनौँ’
त्यो म्यासेज कान्छी सिर्जनाले गरेकी थिइन्।
छोरीले त्यसो भनेपछि उमाले श्रीमानलाई फोन गरेर त्यसको जानकारी दिएकी थिइन्। त्यसपछि कँडेल दम्पतिले छोरीहरुको खोजीको लागि सबैतिर आग्रह गरेका थिए।
‘म काममा थिएँ। पछि घर गएर हेर्दा छोरीहरुले आफ्ना सबै लुगा, पैसा लगेका रहेछन्। यताउता हेर्दा देखिँन। आफन्तकोमा फोन गर्यौं। भेटिएनन्। पछि प्रहरीलाई खबर गर्दा नेपाल तिर गइरहेको भन्यो,’ उमाले भनेकी छन्।
कँडेलको परिवार लामो सयमदेखि भारतमा बस्दै आएको वडाध्यक्ष थापाले बताए।