प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

 संवाददाता    २०८२, ९ श्रावण बिहीबार ०९:१२     160 जनाले पढ़िसके



Spread the love

आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्ने कार्यसूचीमा रहेको छ।

यसै गरी, आजै प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र राष्ट्रिय सभाका दुई समितिहरू सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठकहरू पनि बस्दै छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधनकर्तासँग छलफल हुने कार्यक्रम रहेको छ। विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ।