कास्की प्रहरीले एक युवकलाई आफ्नै नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा पक्राउ गरेको छ। शिशुको हत्या भएको १० महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा महानगरपालिका– ९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।
२०८१ साल असोज १३ गते साँझ पोखरा– १४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा लामिछानेले आफ्नै शिशुको हत्या गरेर फालेको खुलेपछि प्रहरीले उनलाई खोजी गर्दै आएको थियो।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यही साउन ४ गते प्रहरीले पक्राउ गरेको हो।
श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि उपचार गराउन ल्याउँदा उनलाई पक्राउ गरिएको डीएसपी बस्नेतले जानकारी दिए। बस्नेतलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
त्यतिबेला नवजात शिशुको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले नवजात शिशु (छोरा)को शव जेब्रा झोलामा फलाटिनको कपडाले बेरी रातो गुलाबी रंगको ब्लाङकेटले छोपेको अवस्थामा फेला पारेको थियो।
सडकछेउमा फेला पारेको शिशुको शवलाई प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गर्दा शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको खुलेको थियो।
शिशुलाई कर्तव्य गरी मारेको यकिन भएपछि प्रहरीले लामिछानेविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।