कर्णाली एमालेको सन्देश : ओलीको नेतृत्व, एकताबद्ध एमाले

 संवाददाता    २०८२, ७ श्रावण मंगलवार २१:३२     263 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा कर्णालीका एमाले नेताहरूले केपी ओलीको नेतृत्वमा एकताबद्ध पार्टीको आवश्यकता भएको बताएका छन् ।

बैठकमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा भाग दिँदै कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले मिसन ८४ सफल बनाउन एकताबद्ध एमालेको विकल्प भएको बताएका हुन् ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकको दोस्रो दिन धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले पछिल्लो समय पार्टीभित्र देखिएको विवादले आगामी निर्वाचन सफल नहुने भन्दै सिङ्गो पार्टीलाई एकताबद्ध बनाउन जोड दिए ।

कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्यहरूले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य प्राप्तिका लागि एमालेको एकल बहुमत आवश्यक पर्ने र त्यसका लागि मिसन ८४ उत्तम मौका भएकाले पार्टी आन्तरिक किचलोमा फस्न नहुने तर्क गरेका छन् ।

पार्टी नेतृत्व रक्षाका लागि एकताबद्ध देखिएको कर्णालीले केहि दिनयता पार्टीका पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति पार्टी काममा फर्कने विषयलाई लिएर सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम छर्ने काम भइरहेको उल्लेख गर्दै उक्त विवाद समाधानको लागि नेतृत्व लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 

नेताहरूले लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि पूर्व राष्ट्रपतिले सक्रिय राजनीतिमा रहर नगरेर सम्मानित भएर बस्नुपर्ने धारणा राखेका छन् ।

देशको शिखरमा पुगेको व्यक्ति फेरि तल ओर्लिनु राम्रो नभएको बताएका केन्द्रीय सदस्य निरज आचार्यले भने, ‘पूर्व राष्ट्रपति राजनीतिक दल विशेषको सक्रिय भूमिकामा फर्कने विषय आजको बहसको केन्द्रमा छ । कानुनी रूपमा हेर्दा, अरू कुनै नागरिक जस्तै उहाँलाई पनि राजनीति गर्ने अधिकार छ । तर, यो केवल कानुनी प्रश्न मात्र होइन, यो त राजनीतिक र नैतिक प्रश्न पनि हो । हामीले अवलम्बन गरेको गणतन्त्रमा राष्ट्रपतिको पद केवल कर्मकाण्डी औपचारिकता मात्र होइन—यो गणतन्त्रको गौरवको प्रतीक हो, सिङ्गो राजनीतिक प्रणालीको गजुर हो । कुनै पनि व्यक्ति त्यस शिखरमा पुगी फेरी ओर्लिएर पुनः दलगत राजनीतिमा फर्कनु गणतन्त्रको संस्कार र पद्धति हैन ।’

अर्का केन्द्रीय सदस्य नगेन्द्र शाही (नेशनल)ले आगामी मिसन ८४ लाई लक्षित गरी केपी ओली कै नेतृत्वमा सफल पार्ने निर्णय गर्न जरुरी रहेको बताए ।

बैठकमा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूको भावलाई बुझेर पनि पूर्व राष्ट्रपति ज्यूलाई सक्रिय राजनीतिमा आउन हुन्न र आउने कुरा एमालेका निम्ति फाइदा पुगे पनि देश र गणतन्त्रका निम्ति फाइदा हुँदैन भन्ने यो बैठकले निष्कर्ष निकाल्नु पर्नेमा जोड दिए ।

 

केन्द्रीय सदस्य मोहनमाया ढकालले मिसन ८४ सफल पार्न केपी शर्मा ओली नेतृत्वको विकल्प नरहेको बताइन् ।

‘उहाँ (ओली)को नेतृत्वले हाम्रो पार्टी एमालेको पहिचान बदलिएको छ । जनस्तरमा आशा पलाएको छ । अब मिसन ८४ मा एमालेलाई एकल बहुमत पुर्‍याउनका लागि पनि एमालेको नेतृत्वमा ओलीको विकल्प नसोचौँ’ केन्द्रीय सदस्य ढकालले थपिन् ‘२०५६ देखि २०७० सम्मको राजनीतिक सङ्क्रमणको समयमा एमालेको नेतृत्वले सही निर्णय गर्न नसक्दा पार्टी निकै कमजोर भयो जब २०७१ मा सम्पन्न नवौँ महाधिवेशनपछि ओली पार्टीको नेतृत्वमा आउनुभयो त्यसपछि एमालेले राष्ट्रिय राजनीतिलाई नै नेतृत्व दिएको छ, अझै पनि एमालेले समृद्ध नेपालको नेतृत्व गर्नुपर्ने छ । त्यसैले ओलीको विकल्पमा कल्पना समेत नगरौँ ।’

एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले पछिल्लो समय पार्टी नेतृत्व गर्ने विषयमा आएका सबै समस्याको समाधानका लागि आसन्न एघारौँ महाधिवेशन सार्नुपर्ने माग राखे । महाधिवेशन गर्दा पार्टी भित्रको आन्तरिक तिक्तता बढ्ने तर्फ सङ्केत गरेका अध्यक्ष शाहले भने, ‘८४ को मिसन सफल पार्न सिङ्गो पार्टी एकताबद्ध हुनुको विकल्प छैन, महाधिवेशन गर्ने हो भने पार्टी भित्र असन्तुष्टि बढ्न सक्छ । त्यसैले पार्टीको आसन्न एघारौँ महाधिवेशन २०८४ पछि सारेर जाऔँ ।’

कर्णाली प्रदेशका दश वटै जिल्लाबाट एमाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन केन्द्रीय सदस्य रहेका छन् । यो समाचार तयार पार्दासम्म केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । केन्द्रीय सदस्यपछि आयोगका सदस्यहरू बोल्न थालेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । बैठक आजै सक्ने तयारी छ ।