‘न्यायिक हिरासतमा परेका व्यक्तिलाई पुनः प्रहरी हिरासतमा राख्नु मानव अधिकार विपरीत’

 संवाददाता    २०८२, ५ श्रावण आईतवार १९:०२     359 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरूबाटै व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गरेकी छन् ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको बताएकी हुन् ।

सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाइन्। उनले भनिन्, ‘पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण भएको हो कि जस्तो प्रश्नहरू आइरहेको छ । सामाजिक सञ्जालमा टिप्पणी गरेको आधारमा गिरफ्तारी गर्ने, मुद्दाहरू चलाउने कुराहरू पनि मानव अधिकारको प्रतिवेदनमा समेटेर जानुपर्छ । त्यसका लागि आवश्यक तयारी पनि गर्नुपर्छ ।’

उनले थपिन्, ‘अनि अदालतमा लैजानु पूर्व पनि धेरै मानव अधिकार उल्लङ्घन भएको हामीले महसुस गरेका छौँ । एक चोटि न्यायिक हिरासतमा गइसकेको मान्छेलाई फेरी प्रहरी हिरासतमा राख्ने कुरालाई संसारको कुनै पनि मानव अधिकारले यो सही छ भनेर भन्दैन । तर हाम्रो नेपालमा त्यो अभ्यास भइरहेको छ । यो पेचिलो विषय छ ।’

उनले मानव अधिकार उल्लङ्घन रोक्न आवश्यक कानुनी सुधार गर्न पनि आग्रह गरिन् ।