राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छन् ।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अव पनि शिक्षकहरूले थप मागमा अडान लिन नहुने बताएकी हुन् ।
विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उनले शिक्षकहरूलाई सुझाव दिइन् । श्रेष्ठले शिक्षकहरूको अनुहार देखाएर अरू समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह गरिन् ।
उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाइ भएको भन्दै यसमा राजनीतिक दलहरू समेत गम्भीर हुनुपर्ने बताइन् ।