गूगल म्यापमा धरहराको नाम ‘सेतो टावर’

 संवाददाता    २०८२, ५ श्रावण आईतवार १३:१८     262 जनाले पढ़िसके



Spread the love

राजधानीको ऐतिहासिक धरहरा अहिले गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखिएको छ। प्रयोगकर्ताले गुगल म्यापमा सर्च गर्दा धरहराको स्थानमा ‘सेतो टावर’ भनेर देखाइएकाे पुष्टि भएको हो।

यो नाम कसरी परिवर्तन भयो भन्नेबारे सरकारलाई भने जानकारी नभएको पाइएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CPIU) का कार्यवाहक निर्देशक रोशन श्रेष्ठले नाम परिवर्तनबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

‘हामीलाई यसबारे कुनै जानकारी छैन, कसैले परिवर्तन गरेको हुनुपर्छ,’ श्रेष्ठले भने, ‘सरकारी तर्फबाट यस्तो परिवर्तन गरिएको होइन।’

२०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी अभियानका क्रममा ‘सेतो टावर’ भनेर उल्लेख गरेका थिए। त्यसपछि यो नाम सामाजिक सञ्जाल र सार्वजनिक चर्चामा आएको हो।

गुगल म्यापमा प्रयोगकर्ताले सजिलै स्थानको नाम परिवर्तन गर्न सक्ने सुविधा रहेकाले धरहरा ‘सेतो टावर’को रूपमा देखिन थालेको हुनसक्ने अनुमान छ। तर यसबारेमा सम्बन्धित निकायबाट अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।