प्रधानमन्त्रीलाई विशाल भण्डारीको आग्रह : म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो

 संवाददाता    २०८२, ५ श्रावण आईतवार १२:४६     250 जनाले पढ़िसके



Spread the love

कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्माता तथा निर्देशक विशाल भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक संजालमार्फत आफू र आफ्नो टीमलाई न्याय र काम गर्ने वातावरण दिलाउन माग गरेका छन् ।

आइतबार बिहान सामाजिक संजालमा एक लामो विज्ञप्तिमा उनले प्रधानमन्त्री ओलीलाई मेन्सन गरेका छन् जहाँ, ती कार्यक्रमका एक साझेदारले सम्झौताविपरित आफूलाई पैसा माग्दै यातना दिएको जनाएका छन् ।

१९ महिनाअघि गैरआवासीय नेपाली संघका एसिया प्रशान्त क्षेत्रका एक पदाधिकारी हरि भट्टराई ३.५ करोड रुपैयाँ लगानी र ३० प्रतिशत सेयर किन्ने सर्तमा निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिको साझेदार बनेको भण्डारीले उल्लेख गरेका छन् ।

‘कमेडी च्याम्पियन’ सिजन ३ चलाउन आवश्यक डेढकरोड तत्काल दिने र मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्‍याउन भद्र सहमति आफूहरूबीच भएको जनाउँदै विशालले भट्टराईले आफूसँग २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको उल्लेख गरेका छन् ।

‘कमेडी च्याम्पियनको सिजन ३ सकिनासाथ मसँग पैसा कहिले आउँछ, म निस्कन्छु भन्ने बहाना बनाएर सम्झौता विपरित मलाई पैसाको लागि यातना दिन थालियो’ भण्डारीले उल्लेख गरेका छन् ।

‘हरेक बैकिङ कारोवार ब्यांक टु ब्यांक भएकोले मसँग सबै कारोवारको प्रमाण छ । तर बढि गएको पैसा फिर्ता नगर्ने र जसरी पनि उनको चिनजान सम्बन्ध र शक्तिको दुरुपयोग गर्दै पैसा असुल्न लागेको देखेपछि कम्पनीको बाँकी सेयर धनीले विभिन्न मुद्दा हालेर हिसाब मागेको र २.४ करोड अपचलनको लगायतको मुद्दा जिल्ला अदालत काठमाडौ र उच्च अदालत पाटनमा चलिरहेको छ । उनले चेकबापत दाबी गरेको रकम लगेरपनि मिलापत्र गर्न नआएपछि मैले उनका विरुद्ध दिएको अपराधिक लाभको मुद्दा परिसर काठमाण्डौमै छ । उसले हालेको बैकिङ कसुरको मुद्दा पैसा लिइसकेर पनी मिलापत्र गर्न ऊ नआएर जिल्ला अदालत पुगेको छ’ उनले विज्ञप्तिमा भनेका छन् ।

‘अझैपनि मिलापत्र गर्न नआउने, हामीलाई अलमलाएर राख्ने, पैसा पनि लग्ने, मिलापत्र पनि नगर्ने, कम्पनी नछोड्ने र कानुनको कमजोरीको फाइदा उठाउँदै मुद्दाको पेसी पटक–पटक सार्न लगाई दुःख दिएर हैरान बनाउने, काम गर्न नदिने, कार्यक्रम रोक्न मुद्दा हाल्ने, कहिले कम्पनीको खाता रोक्न मुद्दा हाल्ने, धम्काउने लगायतको काम गर्ने गरेर कम्पनीको कार्यसम्पादनमा निरन्तर रुकावट ब्यवधान गर्ने, उसको यस निकृष्ट एवं घृणित व्यवहारकोविरुद्ध भण्डाफोरको उदघोष नगरी थप सहेर बस्न नसकेको कारणले यो स्टाटसमार्फत न्यायप्रेमी जनतामाझ उसको देखावटी सुकिलो अनुहारभित्र लुकेको सैतानी चेहरा उजागर गर्न बाध्य भएको छु’ भण्डारीले लेखेका छन् ।

आफूले यसबारे प्रधानमन्त्री ओली र हेलो सरकारको सचिवालयलाई भेटेर जानकारी गराएपनि कुनै प्रतिक्रिया नआएको भण्डारीले जनाएका छन् । उनको यो मर्मस्पर्शी पोस्टमा १०० जनाको भविष्य, रोजगारी र दैनिकी पनि जोडिएको उल्लेख गरेका छन् ।

‘के यो देशमा इमान्दारी साथ कला सिर्जना, श्रम र पौरख बेचेर गरीखान नपाइने हो ? के देश सम्बन्ध बनाएर शक्ति राख्न र दुरुपयोग गर्न जान्ने मात्रको हो ?’ उनले प्रश्न गरेका छन् । ‘अब अति नै भयो । सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो । हामी यही देशमा बसेर दर्शक हँसाइराख्न चाहन्छौं’ उनले लेखेका छन् ।