पछिल्लो समय नेपाली फिल्म प्रचार शैली फेरिन थालेका छन् । जसको जल्दो बल्दो उदाहरण फिल्म ‘बलिदान’को पोस्टरलाई हेर्न सकिन्छ । फिल्मले ६० फिट लामो पोस्टर सार्वजनिक गरेको छ ।
निर्माण युनिटले गोङ्गबुस्थित ल्होत्से मलको बाहिरी भागमा यो पोस्टर राख्दै सार्वजनिक गरेको हो । यसअघि फिल्म ‘नरसिंह ः अवतारले’ पनि यस्तै पोस्टर सार्वजनिक गरेको थियो ।
‘बलिदान’को सार्वजनिक पोस्टरमा रगतले लतपतिएका र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक मानव आकृतिमाथि भालाजस्तो देखिने धारिलो अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । उनको अनुहारमा आक्रोशको भाव झल्किन्छ ।
आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ ।
निर्देशक सन्तोष सेनले ‘बलिदान’ एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताए । फिल्ममा गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले ‘बलिदान’ले फरक पहिचान कायम गर्ने उनको विश्वास छ ।