ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास सुरु गरौं : मन्त्री खड्का

 संवाददाता    २०८२, २ श्रावण बिहीबार १४:०८     214 जनाले पढ़िसके



Spread the love

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने बताएका छन् ।

बिहीबार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले भनेको समाजवाद उर्जा क्षेत्रबाटै शुरु गरौं, सबै नागरिकले सहभागी हुनसक्ने गरी ऊर्जा क्षेत्रलाई अगाडि बढाउन जरूरी छ ।

 

मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताए ।

खान नपुग्ने नागरिकको घरसम्म ऊर्जामार्फत समृद्धि पुर्‍याउनको लागि सरकार क्रियाशील रहेको पनि बताए ।

‘हुनेलाई मात्र नभई नहुने नागरिकलाई पनि यस क्षेत्रमा आवद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, ऊर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस्’ उनले भने, ‘त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन।’

मन्त्री खड्काले ऊर्जा क्षेत्रमा विगतमा भएका कामहरूको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए । मन्त्री खड्काले विद्युत आयोजनाहरूका अकल्पनीय क्षतिहरू हुने गरेको कारण क्षति न्यूनीकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

खड्काले मन्त्रालयले विगतका कामको जगमै बसेर काम गरिरहेको बताए । ‘विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो र अझ बढी आवश्यक छ । विद्वान र राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरूका कुरा सुनेको छु जसले जे भनेपनि ऊर्जा क्षेत्रको विकासमा ढिलाई गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

खड्काले थपे, ‘अझैपनि सबै घरमा विद्युत पुर्‍याउन नसकेको अवस्था छ । सबै घरधुरीमा विद्युत पुर्‍याएर सबै चुल्होमा विद्युत पुर्‍याउने मन छ ।’