आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका महत्त्वपूर्ण राजमार्गहरू लथालिङ्ग अवस्थामा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा बोल्दै उनले भने, ‘देशका सबै राजमार्गहरूको अवस्था लथालिङ्ग छ, निर्माण कार्य सुस्त छ । एकातिर देशको मुहार फेर्ने राजमार्गहरू सुस्त र गतिहीन हुने, अनि अर्कोतर्फ नेताजीहरूको क्षेत्र र उहाँहरूको स्वार्थमा रफ्तारमा सडक निर्माण हुने, यो दुःखद कुरा हो । म जान्न चाहन्छु कि महेन्द्र राजमार्गको काम किन स्लो भयो ? हुलाकी राजमार्गको निर्माण कार्य किन गतिहीन छ । बुटवल–नारायण घाट सडक किन रोकिएको छ ?’
उनले मुग्लिङ–पोखरा र मुग्लिङ–नौबिसे सडकको पनि उस्तै अवस्था रहेको चित्रण गरे । उनले काठमाडौँ–तराई/मधेस द्रूतमार्गको काम किन ढिलो गरिएको भनेर प्रश्न उठाए ।
‘यसको प्रगति के छ ? सरकारी कामको प्रगति देखिन्छ, जुनबेला फास्ट ट्र्याक सुरु भयो, त्यतिवेला नै मध्यपहाडी लोकमार्ग सुरु भयो, यो सडकमा झन्डै १४ सय किलोमिटर सडक पिच भएको सुन्छौँ, झन्डै ८५ प्रतिशत प्रगति छ । तर, फास्ट ट्र्याक एक इन्चपनि पिच हुन सकेन, जो ७० किलोमिटर छ । हामी जान्न चाहन्छौँ कि त्यसको प्रगति किन बढ्न सकेन ? किन त्यसमा जहिल्यै पनि विवाद मात्रै सुन्नुपरेको छ । नेपाली सेनालाई जिम्मा दिएको नै ६ वर्ष भैसकेको छ,’ साहले भने ।
उनले नेपाली सेनाको हुर्मत लिने काम भएको भन्दै आपत्ति जनाए । ‘यो फास्ट ट्र्याक निर्माणको काम सेनालाई दिएको नै झन्डै ६ वर्ष भइसक्यो, नेपालको सबभन्दा गौरवशाली संस्था र देशको मेरुदण्ड हो नेपाली सेना । आज सेनाको हुर्मत लिने काम भइरहेको छ । सेनामाथिको विश्वास घटाउने काम भइरहेको छ , नेपाली जनतामा आर्मीप्रति एउटा ठुलो आस्था छ । ठुलो भरोसा छ । तर, यहाँ दुनियाँले नगरेको काम आर्मीलाई दिइएको छ, अनि आर्मीले लिएको काम पनि समयमा हुन सकिरहेको छैन । यो किन भएन भनेर जान्न चाहन्छौँ ?’
उनले सडक बनाउने नाममा सरकारले मनपरी गरिरहेको समेत आरोप लगाए ।