प्रधानमन्त्री ओलीले रोकिनु भन्दाभन्दै पदबाट राजीनामा दिएको एमाले सांसद गुप्ताको दाबी

 संवाददाता    २०८२, ३१ असार मंगलवार १२:२३     519 जनाले पढ़िसके



Spread the love

घुस ‘डिल’ प्रकरणमा मुछिएका एमाले सांसद राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिनु भन्दाभन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएको दाबी गरेका छन्।

आरोप र आलोचना खेप्न नसकेर आज बिहान पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय पुगेर राजीनमा बुझाएको गुप्ताले बताए।

तर प्रधानमन्त्री ओली बालुवाटारभित्रै अर्कै कार्यक्रममा व्यस्त रहेकाले उनीसँग भेट हुन नपाएको गुप्ताले बताए। तर टेलिफोन गरेर उनलाई जानकारी गराउँदा अहिले रोकिनु भनेको दाबी गुप्ताले गरेका छन्।

‘प्रधानमन्त्री बालुवाटारमै अर्काे कार्यक्रममा हुनुहुन्थ्यो त्यही भएर मैले उहाँको सचिवालयमा राजीनामा बुझाएँ। सचिवालयमा राजीनमा बुझाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर जानकारी गराएँ’, उनले भने।
अनि उहाँले के भन्नुभयो त?

जिज्ञासामा गुप्ताले भने, ‘हैन, रुक्नु, रुक्नु भन्नुभो, मैले होइन हजर म यति तनाव, यति पीडा सहँदैन हजुर, मैले राजीनामा बुझाएँ, गएँ।’

गुप्ताले तनावले गर्दा हार्टअट्याक नै होलाजस्तो भएपछि मन्त्री पदबाट राजीनामा दिएको बताए।

‘कति तनाव सहने बाफ रे बाफ! तीन दिनदेखि टीभी हेर्न पाएको छैन, मोबाइल चलाउँदा त्यत्तिकै तनाव, हत्तेरिका, यस्तो पनि हुन्छ! मेरा कुरा कसैले नलेख्ने! बाफ रे बाफ यति झन्झट’ मान्छेलाई हार्टअट्याक हुन्छ, म आफैँ गएर पीएमलाई दिएँ। मलाई बस्न मन लागेन हजुर, छानबिन होस् मेरो पनि राजनीतिक करियर छ नि त। आरोप लागेर कुर्सीमा बस्नु धेरै तनाव भयो।’