काभ्रेका ३ ठाउँमा लेदोसहितको पहिरोले बीपी राजमार्ग रातिदेखि अवरुद्ध

 संवाददाता    २०८२, ३१ असार मंगलवार १०:४६     354 जनाले पढ़िसके



Spread the love

काभ्रेका तीन ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध छ।

रातिदेखि नै पहिरो पन्छाएर सडक खुलाउने प्रयास भए पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए।

रोसी गाउँपालिका- ११ स्थित माम्ती खोला, रोसी- ९ कै पिन्थली र बिरुवाडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

‘तीनै ठाउँमा रातिदेखि नै जेसीभीको सहायतामा पहिरो हटाउने प्रयास जारी छ,’ घलेले मंगलबार बिहान भने, ‘तर, अझै पहिरो हटाएर यातायात सुचारु गर्न सकिएको छैन। सबै पहिरो हटाउन अझै ३/४ घण्टा लाग्छ होला।’

उनले कुनै अप्ठ्यारो परेमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न पनि यात्रुहरुलाई अनुरोध गरेका छन्। त्यसका लागि मोवाइल नम्बरहरु ९८५१२८४३७६, ९८५११२३८०५ ,९८५१२८५४०० र ९८५१२३७३३९ मा सम्पर्क गर्न सकिने घलेले बताए।

माम्तीमा गएराति १० बजेतिर सडक माथिबाट भेल आएर सडक कटान गरेपछि यातायात अवरुद्ध भएकाे हाे। त्यहाँ अहिले दुईतर्फी नै सवारी अवरुद्ध छ।

काभ्रेको मंगलटारबाट गएका प्रहरीले जेसीभीको सहायतामा पहिरो हटाउने प्रयास जारी राखेका छन्।

गएराति नै साढे ११ बजेतिर रोसी-९ को पिन्थलीमा खहरे खोलाको लेदो आएर सडकमा थुप्रिँदा बाटो दुईतर्फी नै अवरुद्ध रहेको घलेले बताए। त्यहाँ पनि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली खटिएकाे छ। रातिदेखि नै जेसीभीको सहायतामा पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरि राति साढे ११ बजेदेखि नै रोसी- ९ बिरुवाडाँडामा पनि सडक अवरुद्ध छ।

त्यहाँ लेदो सहितको पहिरो आएकोले बाटो दुईतर्फी नै सवारी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ। यी सबै पहिरो र लेदो हटाउन अझै तीन चार घण्टा लाग्ने अनुमान प्रहरीले गरेको छ।

गत वर्ष असाेज १२ गते आएकाे बाढीले क्षतविच्छद भएकाे बीपी राजमार्ग सामान्य वर्षामा समेत अवरुद्ध हुने गरेको छ। यस वर्ष पनि वर्खा लागेसँगै याे पटकपटक अवरुद्ध भइसकेकाे छ।

सडककाे अवराेध हटाउनका लागि सडक डिभिजन भक्तपुरले धुलिखेलदेखि सिन्धुलीको सिमाना डालाबेशीसम्म जेसिबी, लोडर, ग्रेडर, ट्रीपरलगायतका २१ वटा उपकरण राजमार्गमै राखेको जनाएको छ।