प्रचण्डलाई ओलीको जवाफ : प्यारापिट र फ्लडलाइटको काम हेर्न कीर्तिपुर जानुस् !

 संवाददाता    २०८२, ३० असार सोमबार १७:००     229 जनाले पढ़िसके



Spread the love

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ भएको भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रिया जनाएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रश्नको जवाफ दिँदै भने, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? भनेर प्रश्न गर्नु भयो। म आग्रह गर्छु, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोलहरू पनि हेर्न जानुस्। बनिरहेको छ।’

 

ओलीले आफूले योजनाहरू टाइमलाइनसहित अघि सारेको र त्यसमा काम भइरहेको प्रष्ट पार्दै प्रचण्डमाथि व्यंग्य पनि गरे। ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काममा टाइमलाइन तोकेर गर्छु भन्नु भएन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’ ओलीले कटाक्ष गर्दै भने, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें, र काम पनि गरें।’

प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले छाडेर गएको अर्थतन्त्रको अवस्थाबारे पनि टिप्पणी गरे। ‘तपाईंले जर्जर बनाएको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु’ उनले थपे।