स्पेनमा मानव तस्करी काण्ड सार्वजनिक गर्ने पत्रकार देउजालाई धम्की

 संवाददाता    २०८२, ३० असार सोमबार १६:०४     1078 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा आयोजित संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ को बहानामा केही असम्बन्धित व्यक्ति स्पेन पुगेको विषय सार्वजनिक गरेका पत्रकार सन्तोष देउजालाई धम्की दिइएकोप्रति प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवसमेत रहेका पत्रकार देउजाले अडियोसहित स्पेनमा भएको भनिएको मानव तस्करी प्रकरण कपुरबोट मिडियामार्फत सार्वजनिक गरेका थिए। सो समाचार सार्वजनिक भएपछि सरकार पक्षका केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देउजामाथि धम्की दिने, डर त्रास फैलाउने र चरित्र हत्या गर्ने गतिविधि गरिरहेका छन्।

प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधि संविधानद्वारा प्रत्याभूत प्रेस स्वतन्त्रता विपरीत भएको भन्दै घोर भर्त्सना गरेका छन्।

‘समाचार सार्वजनिक गरेको भन्दै पत्रकारलाई लक्षित गरी भइरहेको धम्की, दुष्प्रचार र मानसिक दबाब प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘सचिव देउजाको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउँछौँ।’