आधाघण्टा प्रधानमन्त्रीसँग भेटेर बालुवाटरबाट निस्किए मन्त्री गुप्ता

 संवाददाता    २०८२, ३० असार सोमबार १२:२०     310 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । भूमि आयोगको नियुक्ती र मालपोतका कर्मचारी सरुवामा घुस डिल गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बालुवाटार आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घण्टा कुराकानी गरेका छन्। गुप्ता नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्य समेत हुन् ।

सर्वत्र मन्त्रीलाई बर्खास्त गर्न दबाब बढेपछि प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएका थिए । सोमबार बिहान करिब पौन ११ बजे प्रधानमन्त्रीको सरकारी निवास छिरेको गुप्ता अहिले बाहिरिएका छन् ।

भूमि आयोग कास्कीको अध्यक्षमा एमालेकै प्रदेश कमिटी सदस्य खेमबहादुर पुनलाई नियुक्त गर्नका लागि अर्का एमालेकै प्रदेश कमिटीका नेता सुजन लामाले मन्त्री गुप्तालाई भेटी २५ लाखको डिल गरेको अडियो प्रसारण भएको थियो ।

उक्त डिलका क्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व भूमि सुधार मन्त्री रञ्जिता श्रेष्ठ समेत संलग्न रहेको अडियो मा सुनिन्छ ।

मन्त्री गुप्ताले अडियोमा सुनिएको आवाज आफ्नो भएको स्वीकार गरेका थिए । साथै पूर्व मन्त्री रञ्जिताले समेत उपस्थित भएको,कुराकानी गरेको स्वीकार गरेकी थिइन् ।

भूमि आयोग कास्कीमा अध्यक्ष बन्न लबिङ गरेका खेमबहादुर पुनले समेत, सुजन लामा देखि मन्त्री पनि एउटै पार्टीको भएकाले आफ्ना लागि साथीहरूले मन्त्रीसँग आग्रह गरेको हुन सक्ने भन्दै घुमाउरो पारामा स्वीकार गरेको थिए ।

अडियो रेकर्डमा मन्त्री गुप्ताले भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले समेत पैसा खाइसकेको बताएका थिए । साथै अधिकारी माथि तीनपाने रक्सी खुवाएर काम गराउने समेत अभिव्यक्ति अडियो रेकर्डमा सुनिन्छ ।

उक्त अडियो तथा मन्त्रीलाई घुस बुझाएको रकमको नम्बर सहित असार १० गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

यस विषयमा मन्त्री गुप्तासँग प्रतिक्रिया लिँदा आफूलाई अख्तियारले फोन गरेर सोधेको समेत बताएका थिए ।

तर अडियो सार्वजनिक भएको ३ दिनसम्म पनि सरकारले मन्त्री गुप्ता माथि कुनै एक्सन नलिएपछि सरकारको सर्वत्र आलोचना भएको थियो ।

चौतर्फी दबाबपछि भने प्रधानमन्त्री कार्यालयले मन्त्री गुप्तालाई हटाउने तयारी गरेको हो । गुप्तालाई हटाउने तयारी भए पनि अर्का मन्त्री अधिकारीलाई भने सरकारले जोगाउने प्रयास गरेको छ ।

गत पुस २८ गते रेकर्ड भएको उक्त अडियो मा भूमि सुधार मन्त्री बलराम अधिकारीले अन्यबाट पैसा खाइसकेकोले आफूले भनेको नमान्ने बताएका थिए । अडियो रेकर्डमै २९ गते भूमि आयोगका जिल्ला अध्यक्षहरू नियुक्त हुँदै भनिएको थियो । सोही अनुसार पुस २९ गते नै भूमि सुधार मन्त्री अधिकारीले ५७ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेका थिए । कास्कीमा भने खेमबहादुर पुनलाई नियुक्त नगरी अर्का व्यक्ती नियुक्त भएका थिए ।

बालुवाटार स्रोतका अनुसार घुस डिलको अडियो प्रकरणमा मन्त्री गुप्तालाई मात्रै बर्खास्त गरेर अर्का मन्त्री बलराम अधिकारीलाई भने जोगाउने प्रयास भइरहेको छ ।