पर्सामा जिउनीको जग्गा नपाउँदा छोराले आमाबुवालाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ ।
गएको बिहीबार वीरगञ्ज महानगरपालिका–१३ निवासी शिवपुजन राउतले प्रहरीमा जाहेरी दिएपछि यो घटना खुलेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिएका हुन् ।
८५ वर्षीय राउतले पर्सा प्रहरीको नाममा जाहेरी लेख्दै आफूलाई निर्घात कुटपिट गर्ने छोरा र नातिलाई कारबाहीको माग गरेका छन् ।
पर्सा प्रहरीमा उनले आफ्नै छोरा वृजकिशोर पटेल र नाति हरिओम पटेलमाथि जाहेरी दिएका लम्सालले बताए । उनका अनुसार प्रहरीले पत्र काटेर कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ ।
‘म र मेरो श्रीमती लामो समयदेखि आफ्नो छोराहरूबाट अलग भई बस्दै आइरहेका छौँ, अंशबन्डा गरी हामीले आफ्नो भागको जमिन लिएर आफ्नो गुजारा चलाइरहेका छौँ । तर यहीबिच हाम्रो जिउनीका लागि राखिएको जग्गा माइलो छोराले आफ्नो नाममा नामसारी गर्न पटकपटक दबाब दिन सुरु गर्यो, जुन हामीले इन्कार गर्दै आइरहेका थियौं,’ जोहरीमा शिवपुजनले लेखेका छन्, ‘तर यही बिहीबार उनीहरू फेरि मेरो घरमा आई जबरजस्ती औँठाछाप गर्न लगाउँदा हामीले मानेनौँ, अनि त्यसपछि उनीहरूले लात र मुक्का बर्साउन थाले ।’
यसरी निर्घात कुटपिट गरिएकोले दुर्व्यवहार गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन जाहेरीमार्फत शिवपुजनले आग्रह गरेका छन् ।
विवाद के हो ?
वीरगञ्ज १३ बस्ने शिवपुजनको नाममा २२ धुर जग्गा थियो । त्यो जग्गामा धेरै वर्ष पहिल्यै सात जनालाई अंश लाग्ने गरी मालपोतबाट अंशबन्डा भइसकेको छ । त्यही वेला उनकी र श्रीमती उषादेवीको नाममा पनि केही जग्गा जिउनीका लागि राखिएको थियो ।
शिवपुजनका अनुसार भागबन्डामा श्रीमती र आफ्नो नाममा कुल ६ धुर जग्गा जिउनीमा आएको थियो । त्यही ६ धुर जग्गा फेरि छोराहरूले आँखा लगाएका उनको भनाइ छ ।
त्यही जिउनीको जग्गा आफूले छोराहरूलाई पास नगरिँदा आफूमाथि बारम्बार हिंसा भइरहेको उनले दुःखेसो गरे । र छोराहरूले आफ्नो कुनै हेरचाह नगरेको पनि उनले गुनासो गरे । त्यसैले कसैले वास्ता नगरेपछि आफूले त्यो जग्गा आफैँसँग राखेको उनको भनाइ थियो ।