लागूऔषधसहित विभिन्न जिल्लाबाट १२ जना पक्राउ

 संवाददाता    २०८२, २९ असार आईतवार १३:५७     217 जनाले पढ़िसके



Spread the love

विभिन्न जिल्लामा लागूऔषध सहित १२ जना पक्राउ परेका छन् । रुपन्देही, मोरङ, कैलाली, सुर्खेत लगायतका जिल्लाबाट लागूऔषधसहित १२ जना पक्राउ परेका हुन् ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई चोक नजिकबाट लागूऔषध स्पास्मो ३९ ट्याब्लेट र नाईट्रोसन ३ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय हलिम अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ७४ ग्राम ३ सय १० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका– १२ बस्ने २३ वर्षीय रोशनलाल महताे र भारत बिहार अररिया फुल्का थाना–२ बस्ने २१ वर्षीय पवनकुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को–३० प ४१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

उता कैलालीको गोदावरी नगरपालिका–२ तेघरीबाट ट्रामाडोल ३ सय ६० ट्याब्लेटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय तपेश खड्का र धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय दिक्पाल स्वार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–१८ फुलबारी एफ गाउँ बस्ने २८ वर्षीय केदार बोहरालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय ६० मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यता मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ पिपलबोटबाट ट्रामाडोल ५२ ट्याब्लेटसहित बकैया गाउँपालिका–३ हात्तिसुडे जलजले बस्ने २३ वर्षीय कुशल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सिराहाको सिराहा नगरपालिका–१५ इट्टा भट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलिग्राम सहित गोलबजार नगरपालिका–११ बस्ने २७ वर्षीय शषिकुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बकुनाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्रामसहित सोही नगरपालिका–१२ चनौटे बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका–२ घर भएका २४ वर्षीय युवराज शाहीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–८ अरुण टोलबाट नियन्त्रित लागूऔषध ट्रामोल १ सय ६२ ट्याब्लेट र ट्रामाडोल ३ ट्याब्लेट सहित धरान उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय उज्वल तामाङ समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।