अग्नि सापकोटा भन्छन्– मन्त्रीहरूले नै खुलमखुला घुस ‘डिल’ गर्नु निर्लज्ज

 संवाददाता    २०८२, २९ असार आईतवार १३:३१     225 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारका मन्त्रीहरूले नै खुलमखुला भ्रष्टाचारको डिल गर्नु निर्लज्ज भएको बताएका छन् । घुस ‘डिल’सम्बन्धी प्रकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी मुछिएको अडियो शनिबार एक दैनिक पत्रिकाले सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारसम्बन्धी कुरा थाहा पाएर नै मन्त्रीहरूले घुस डिल गर्ने दुस्साहस गरेको उनले आरोप लगाए । गुप्ता र अधिकारी दुवै जना एमालेबाट गत वर्ष मन्त्री भएका थिए । सापकोटाले ओली सरकारको एक वर्ष भ्रष्टाचारीलाई संरक्षण गर्दैमा बितेकाले पूर्ण असफल भएको आरोप लगाए ।

‘ती मन्त्रीहरूले घुस डिल गर्ने दुस्साहस कसरी गरे भन्नेमा ओलीका भ्रष्टाचारसम्बन्धी कुरा एक एक थाहा छ नि । मन्त्रीहरूले नै यति निर्लज्ज, नाङ्गो तरिकाले घुसको डिल गर्ने सायद इतिहासमा थिएन । यति घिनलाग्दो खुलमखुला भ्रष्टाचारको डिल गर्ने कुरा भएको थिएन । उसलाई कुनै लज्जा नै छैन’, रातोपाटीसँग उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजी–म भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न भन्नुहुन्छ ।’ ठुलठुला भ्रष्टाचारका कुरा छोप्नलाई भनेको हो । उहाँले भ्रष्टाचार छोप्नलाई हो कि हो कि जस्तो पार्ने ढङ्गले भन्नुहुन्छ । त्यसकारण सबै कुरामा यो सरकार असफल भइसकेको छ ।’

अहिलेको सरकारलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीकै कार्यालय मातहतबाट कार्यसम्पादन मूल्याङ्कन रिपोर्ट हेर्दा ओलीलाई २८ अङ्क दिएकोमा अहिले झनै खस्किएको उनले जिकिर गरे । सापकोटाले एक वर्षको मूल्याङ्कनको आधारमा अङ्क दिँदा १०० मा १० नम्बर दिन सकिने बताए । साथै उनले प्रधानमन्त्री ओलीले सरकारमा बसिराख्ने नैतिकता गुमाइसकेको बताए ।