राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले रसुवागढी सडक खण्ड सुचारु गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गरी उपकरण गरी काम सुरु गरिएको बताएका छन् । आइतबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै उनले यस्तो बताएका हुन्।
अवरुद्ध सञ्चार तथा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड मर्मत गरी यातायात सुचारु गर्ने प्रयास भइरहेको उनको भनाइ छ । यसका लागि सडक विभाग, जलविद्युत् आयोजना र निजी क्षेत्रका हेभी इक्विपमेन्टहरु प्रयोग गरिएको बताए।
उनले १८ जना अझै बेपत्ता रहेको जानकारी दिएका छन् । त्यसको लागि चार सुरक्षा निकायद्वारा खोजी कार्य तीव्र बनाएको बताएका हुन् । उनले तीमध्ये ६ जना चिनियाँ नागरिक रहेको बताए। घटनामा मृत्यु भएकाको शव नवलपरासीसम्म भेटिएको उनले जानकारी दिए । बेपत्ताको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको छ।
विपद्पश्चात् बसेको परिषद्को बैठकले तत्काल उद्धार, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको थियो। जसअनुसार राहतको नेतृत्व गृह मन्त्रालयले र निःशुल्क उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयले लिएको छ। साथै, चीन सरकारसँगको सहकार्यमा भत्किएका पुल, भन्सार, जलविद्युत् आयोजना लगायतका पूर्वाधारहरूको तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पहल भइरहेको जानकारी दिए।
बाढीले बगाएर चीनतर्फको भूभागमा फसेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ पक्षको सहयोगमा खाने, बस्ने र औषधोपचारको व्यवस्था मिलाइएको भट्टले बताए। उनका अनुसार नेपालतर्फ रहेकाहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
क्षतिको आकलन र दीर्घकालीन योजना
रसुवा जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गर्न सडक योजनाका प्रमुख इन्जिनियर खड्कलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको प्राधिकरणका प्रमुख भट्टले बताए ।
कानुनी व्यवस्थाअनुसार १० दिनसम्म पनि फेला नपरेका हराएका व्यक्तिहरूलाई मृतकसरह मानी प्रतिपरिवार दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
मनसुनमा बढ्दो जोखिम र पूर्व तयारी
यस वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने र तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । जसले गर्दा हिम नदी पग्लिएर थप विपद्का घटना हुनसक्ने जोखिम बढेको छ। यस वर्ष देशभरमा करिब ४ लाख ५७ हजार परिवारका २० लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमानका आधारमा पूर्व तयारीका काम अघि बढाइएको छ।
प्राधिकरणले गत वर्षको अनुभवबाट पाठ सिक्दै यस वर्ष ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ बनाई प्रभावकारी खोज तथा उद्धारको व्यवस्था मिलाएको छ। सम्भावित जोखिम क्षेत्रमा खोज तथा उद्धार सामग्रीको भण्डारण गरिएको छ भने राजमार्गहरूमा आधा घण्टाभित्र पुग्ने गरी हेभी इक्विपमेन्टहरु तैनाथ गरिएको बताए।
उनले विपद् बारेमा सूचना प्रवाहका लागि सरकारी सञ्चारमाध्यमका साथै सामुदायिक रेडियो र निजी क्षेत्रसँग पनि सहकार्य गरिएको बताए। उनले हवाई उद्धारका लागि काठमाडौँ उपत्यकामा निःशुल्क र बाहिर न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउन निजी हेलिकप्टर कम्पनीहरूसँग सहमति भएको बताए।
कार्यकारी प्रमुख भट्टले गत वर्षको मनसुनको ४२ दिनको तुलनामा यस वर्ष मानवीय तथा भौतिक क्षति कम भएको तथ्याङ्क प्रस्तुत गरे । गत वर्ष सो अवधिमा १,०४३ घटनामा १४४ जनाको मृत्यु भएकोमा यस वर्ष ४२० घटनामा २८ जनाको मृत्यु भएको छ। उनले पूर्व तयारी र सबै निकायको समन्वयात्मक प्रयासले क्षति कम गर्न सकिएको बता