सर्पको टोकाइबाट युवतीको निधन भएपछि छाउगोठ भत्काउन नगरपालिकाको निर्देशन

 संवाददाता    २०८२, २९ असार आईतवार १३:२६     205 जनाले पढ़िसके



Spread the love

कन्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउ गोठ १५ भित्र भत्काउन निर्देशन दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए-नभएको निरीक्षण गर्न १-९ सम्मका सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन्।

शनिबार मात्रै कृष्णपुर-१ मा छाउगोठमा बसिरहेकी २८ वर्षकी कमला दमाईको सर्पको टोकाइबाट निधन भएपछि नगरपालिकाले छाउगोठ भत्काउन भनेको हो।

‘यस कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडाहरूमा अझै पनि छाउपडी प्रथा कायम रही गोठसमेत यथावत भएकोले आ-आफ्नो वडाभित्र रहेका छाउपडी गोठहरू निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरू भत्काउने र उक्त कार्यकान्वयनमा नल्याए कानुनी कारबाहीसहित १० हजार जरिवाना हुने व्यहोरासमेत सम्बन्धितहरूलाई जानकारी गराउनहुन आदेशानुसार अनुरोध छ’ नगरपालिकाको पत्रमा उल्लेख छ।

२८ वर्षीया दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले ठस्दा मृत्यु भएको थियो। मुलुकी संहितामा पनि रजस्वला र सुत्केरी अवस्थामा छाउपडफमा राख्न वा अन्य कुनै भेदभाव, छुवाछूत गराउन नहुने उल्लेख गरिएको छ। यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु नहुने उल्लेख छ।