भोटेकोशी बाढी : अर्बौँको सामग्री नष्ट भएको प्रारम्भिक अनुमान

 संवाददाता    २०८२, २९ असार आईतवार ११:१८     129 जनाले पढ़िसके



Spread the love

रसुवा नाका हुँदै राजधानी भित्रन लागेको दशैका लागि ल्याइएको व्यापारिक सामग्रीहरू मंगलबार बिहान आएको भीषण बाढीले अर्बौँको सामग्री नष्ट पारेको छ । रसुवा नाका हुँदै कन्टेनरमा लोड गरेर ल्याइएको रेडिमेड, स्याउ लगायत सामग्रीहरू बाढीले नष्ट बनाएको छ ।

नाका सम्बद्ध व्यापारीहरूको छाता संगठन नेपाल हिमालय सीमापार वाणिज्य संघले गरेको प्रारम्भिक अनुमान अनुसार कन्टेनरमा रहेको व्यापारीहरूको झन्डै एक अरब बराबरको सामग्रीमा क्षति पुगेको छ ।

रसुवा भन्सारमा जाँच पास भएर राजधानी आउन लागेका र नेपाल भित्रन लागेको गरी ६० वटा कन्टेनरमा रहेको सामग्रीहरू बाढीले क्षति बनाएको नेपाल हिमालय सीमापरा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले जानकारी दिए ।

‘हामीले अहिले सम्म लिएको प्रारम्भिक सूचना अनुसार ६० कन्टेनर र त्यसमा भएका व्यापारिक सामग्रीहरूमा क्षति पुगेको छ,क्षतिको सबै विवरण अझै प्राप्त भएको छैन’, घिमिरेले भने ।

बाढी ले सबैभन्दा बढी चिनियाँ स्याउ बोकेको कन्टेनरमा क्षति पुर्‍याएको छ । प्रारम्भिक जानकारी अनुसार क्षति भएका ६० कन्टेनर मध्ये २७ कन्टेनरमा स्याउ रहेका थिए । २७ मध्ये पनि छ कन्टेनर नेपाल तर्फ भन्सार यार्डमा डुबेको छ,त्यस्तै ६ कन्टेनर चिनियाँ क्षेत्रमा डुबेको छ भने अन्य कन्टेनरहरू बाढीले बगाएको सूचना आफूहरूलाई आएको सीमापारका उपाध्यक्ष घिमिरेले बताए । अन्य बाँकी कन्टेनरहरूमा रेडिमेड सामग्रीहरू, जुत्ता, मेडिकल, सामग्रीहरू रहेको उनले बताए ।

चिनियाँ क्षेत्रमा स्याउ बोकेर बाढीमा डुबेका कन्टेनरमा भएका स्याउहरू समेत नेपाली व्यापारीहरूले नै नष्ट गर्नुपर्ने बाध्यता रहेको छ । ‘अब ती स्याउहरू कम नलाग्ने अवस्थामा पुगेको छ,त्यसलाई नष्ट गर्न पनि हामीलाई निकै झण्झटील छ, केरुङभन्दा माथि लगेर खाल्डो खनेर हामीले नै नष्ट गर्नुपर्छ’, उपाध्यक्ष घिमिरेले भने ।

४० विद्युतीय गाडी बगायो, बिमा नै नहुने

रसुवाको भोटेकोशी बाढी उर्लेर आउँदा भन्सार यार्डमा रहेको ४० विद्युतीय गाडीहरू बाढीले बगाएको प्रारम्भिक अनुमान छ ।

कतिपय भन्सार भइसकेका थिए भने केही भन्सार हुन बाँकी रहेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले केही दिन अगाडि नै बाढी आउने सूचना जारी गरेपछि रसुवा भन्सारले व्यवसायीहरुलाई छिटो गाडी लैजान भने पनि व्यापारीहरूले चासो नदिँदा बाढीमा विद्युतीय गाडीहरू परेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

चीनबाट आयत हुने इभी गाडीको बिमा सुविधा नहुने हुँदा क्षतिपूर्ति पाउने कुनै व्यवस्था नरहेको भन्सार कार्यालयले जानकारी दिएको छ । चिनियाँ व्यापारीहरूले नेपाली व्यापारीहरूलाई विश्वासमा थोरै मूल्य लिएर मात्रै इभी गाडी पठाउने गरेको छ ।

नेपालमा गाडी बिक्री भएपछि चिनियाँहरूलाई रकम पठाउने गरेको व्यापारीहरूको भनाइ छ । अब क्षति नेपालका व्यवसायीहरुले तिर्ने की चिनियाँहरुले तिर्ने अन्योलग्रस्त नै छ रसुवा नाकामा लामो समयदेखि व्यापार गर्दै आइरहेका एक व्यापारीको भनाई छ ।

क्षति भएको सामान क्यारीङवालको की व्यापारीको ?

धेरै व्यापारीहरूले चिनबाट सामग्री खरिद गरेपछि सिधै आफूले आयत नगरी क्यारीङवाल मार्फत गर्ने गर्दछन् ।

चीनमा व्यापारिक सामग्री खरिद गरेपछि केही व्यापारीहरूले आफैले आयत गर्ने गरे पनि अधिकांश व्यापारीहरूले भने क्यारिङ मार्फत सामान ल्याउने गरेका छन् ।

चीनबाट सामग्री खरिद पछि केरुङसम्म चीनका व्यापारीहरूले सामग्री ल्याउने र त्यहाँ बाट क्यारिङले नेपाल सम्म सामग्री ल्याएर व्यापारीहरूलाई जिम्मा लगाउने गर्दछन् ।

क्यारिङवालले निश्चित प्रतिशत लिएर क्यारिङको काम गर्ने गरेको व्यापारीहरूको भनाई छ । चिनियाँ व्यापारीहरूले नेपालका क्यारीङवाललाई सामग्री जिम्मा दिएपछि नेपालका सम्बन्धित व्यापारीहरूलाई नबुझाउँदासम्म त्यसको सबै जिम्मेवारी क्यारिङवालको नै हुने गर्दछ ।

भोटेकोशी बाढीले धेरै व्यापारिक सामग्रीको क्षति भएको छ,अब यसको जिम्मा क्यारिङवालको की व्यापारीको अन्योल नै रहेको हिमाल सीमापार वाणिज्य संघका एक सदस्यले बताए ।

व्यापारीहरूले सहजका लागि क्यारिङवाललाई जिम्मा दिएको हो,अब यस्तो अवस्थामा के हुने ठुलो विवाद छ उनले भने ।
भन्सार भएर प्रज्ञापन पत्र आएपछि त्यो सामग्रीको बिमा हुने भए पनि भन्सार नभएर यार्डमा रहेका सामग्रीहरूको भने बिमा हुँदैन ।

खासमा भन्सारको आफ्नै गोदाम हुनु पर्ने र भन्सार नहुँदा सम्म त्यही गोदाममा सामग्री राख्ने व्यवस्था हुनु पर्ने भए पनि नेपालको प्राय भन्सारमा गोदाम नहुँदा गाडीमा नै सामग्री राख्ने गर्दा पनि समस्या भएको व्यापारीहरूको भनाई छ ।