अब कहिले हुन्छ कांग्रेसका सात भ्रातृसंस्थाको महाधिवेशन ?

 संवाददाता    २०८२, २८ असार शनिबार ०८:०५     185 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको असार २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात भ्रातृसंस्थालाई अन्तिम पटकका लागि महाधिवेशन गर्न समय दिने निर्णय गरेको छ । पार्टीले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेका ती संस्थालाई अहिले भएका तदर्थ समितिको नेतृत्वमा होइन, पार्टीले महाधिवेशन सम्पन्न गर्न बनाएको निर्देशन समितिको नेतृत्वमा महाधिवेशन गराउने निर्णय बैठकले गरेको हो ।

कांग्रेसले गत चैत मसान्तसम्म महाधिवेशन गर्न दिएको जिम्मेवारी सात भ्रातृसंस्था तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले पूरा गर्न सकेका थिएनन् । केन्द्रीय समिति बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले यी भ्रातृसंस्थाको महाधिवेशन गर्न जिम्मेवारी दिएका निर्देशन समितिका पदाधिकारी र तदर्थ समितिका नेतृत्वकर्तासँग छलफल गरेर निर्देशन समितिलाई आफैँले सम्पन्न गर्नेगरी महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिमा पेस गर्न निर्देशन दिएका थिए ।

त्यही अनुरुप ६ भ्रातृसंस्थाका निर्देशन समितिले महाधिवेशन गर्ने मिति केन्द्रीय कार्यालयमा पेस गरेका थिए । कार्यालयमा पेस भएको मिति महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकको सुरुमै असार १६ गते पेस गरेका थिए । महामन्त्री थापाले किसान महासंघले भदौ ३ गते, थारु संघले असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघले भदौ २० र २१ गते र तरुण दलले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव निर्देशन समितिमार्फत पार्टीमा पेस गरेको जानकारी गराएका थिए । त्यो बाहेक दलित संघ र महिला संघको पनि कार्यतालिका पार्टी केन्द्रीय कार्यालयमा निर्देशन समितिमार्फत पेस भएको थियो ।

केन्द्रीय समितिले ‘महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूमध्ये हालसम्म पनि नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले तोकिएको मितिभित्र महाधिवेशन गर्न सकेका छैनन् । २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने भनी अन्तिम समय दिइएकोमा यस बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ संघहरूकोे हकमा कार्यतालिकामा तोकिएको मितिसम्म समयावधि थप गर्ने’ भन्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार किसान महासंघको भदौ ३ गते, थारु संघको असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघको भदौ २० र २१ गते र तरुण दलको मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन हुनेछ । नेविसंघ र महिला संघले पनि मंसिरमै महाधिवेशन गर्ने मिति प्रस्ताव गरेकाले नजुध्ने र एउटा संगठनको महाधिवेशन सकिएपछि अर्को संगठनको तयारी गर्न केही समय राख्नेगरी केन्द्रीय कार्यालयले मिलाउने सहमति बनेको छ ।

नेविसंघको निर्देशन समिति सदस्यसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीमा तीन मुख्य भ्रातृसंस्थाको महाधिवेशन मंसिरमै हुने भएकाले एउटा संस्थाको महाधिवेशन अर्कोसँग नजुध्नेगरी केन्द्रीय कार्यालयले समय मिलाउने सहमति भएको जानकारी दिइन् ।

‘तरुण दल, महिला संघ र नेविसंघको महाधिवेशन मंसिरमै परेकाले एक÷अर्काको महाधिवेशन नजुध्ने तरिकाले केन्द्रीय कार्यालयलाई मिलाउन भनिएको छ,’ गौतमले रातोपाटीसँग भनिन्, ‘तीन संगठनकै महाधिवेशन मंसिरमा हुन्छ ।’

तर, दलित संघको महाधिवेशनको मिति भने निर्देशन समिति र तदर्थ समितिका अध्यक्षबिचको विवादले गर्दा तोकिन सकेको छैन । केन्द्रीय समिति बैठकले ‘कार्यतालिका प्रस्तुत गर्न नसकेको नेपाल दलित संघका सम्बन्धमा केन्द्रीय महाधिवेशन निर्देशन समिति र संघका अध्यक्षबिच छलफल गरी यथाशीघ्र महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न निर्देश गर्दछ’ भन्ने निर्णय गरेको छ ।

अहिलेसम्म निर्देशन समिति र तदर्थ समितिबिच बैठक बस्न सकेको छैन । दलित संघको निर्देशन समिति संयोजकमा सहमहामन्त्री जीवन परियार छन् भने तदर्थ समितिको अध्यक्षमा लोकबहादुर विश्वकर्मा छन् । परियार पार्टीमा इतर समूहमा र विश्वकर्मा संस्थापन समूहमा रहेकाले कुरा मिल्न नसकेको नेताहरू बताउँछन् ।

केन्द्रीय सदस्य गौतमले सभापति देउवासहित शीर्ष नेताहरूले निर्देशन समिति संयोजक र तदर्थ समितिका अध्यक्षलाई एकै ठाउँमा राखेर महाधिवेशनको कार्यतालिका पेस गर्ने र त्यसमै महाधिवेशन गर्ने निर्णय गर्ने सहमति बैठकमा भएको थियो । त्यो बैठक अझै बस्न सकेको छैन ।

कांग्रेस केन्द्रीय समिति बैठकले असार १८ गते नै तरुण दलको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको निर्देशन समितिलाई दिने निर्णय गरेको थियो । बाँकी भ्रातृसंस्थाको बारेमा बैठकको अन्तिम दिन निर्णय गरेको हो ।

अहिले रहेका भ्रातृसंस्थाका तदर्थ समितिमा धेरै सदस्य रहेका भन्दै महाधिवेशनको व्यवस्थापनका लागि त्यही समितिभित्रबाट सानो समिति बनाउने निर्णय पनि कांग्रेस बैठकले गरेको छ । बैठकको निर्णयमा लेखिएको छ, ‘महाधिवेशन तयारी र व्यवस्थापनमा सहजीकरणका लागि पार्टीले सम्बन्धित संघको मौजुदा तदर्थ समितिका अध्यक्षसहित महाधिवेशन व्यवस्थापन समिति बनाउनेछ ।’

त्यस्तै बैठकले सबै संगठनका तदर्थ समितिले २०८१ चैत्र मसान्तपछि गरेका सबै निर्णय खारेज गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेसले प्रस्तावित कार्यतालिका बमोजिम महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरी निर्देशन समितिले गर्नुपर्ने कामका सन्दर्भमा पार्टीको तर्फबाट कार्यादेश उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

पार्टीकै तर्फबाट महाधिवेशन गर्नेगरी बैठकबाटै तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न पार्टीका प्रदेश, जिल्ला लगायतका सबै तहगत समिति र अन्य सम्बन्धित सबैले निर्देशन समितिलाई आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्नु पर्नेछ भन्ने निर्णय पनि गरिएको छ ।