काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बसेको छ । पुस १४ यता कार्यपालिका बैठक बस्न नसकिरहेको बेला आइतबार बसेको बैठक जारी विवादमा ‘आइस ब्रेक’ नै बन्न पुग्यो ।
महानगरका प्रमुख बालेन्द्र शाह(बालेन)ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई अस्वीकार गर्दा महानगरको कार्यपालिका बन्धक हुँदै आएको थियो ।
काठमाडौँ टावर नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं विवादमा तानिएपछि बालेनले उनसँग काम गर्न नसक्ने बताउँदै आएका थिए । संघीय सरकारलाई पटक पटक बालेनले औपचारिक र अनौपचारिक रुपमा अनुरोध र ‘घुर्की’ लगाउँदा समेत गुरागाईंको सरुवा हुन सकेको थिएन ।
संघीय सरकारले बालेनको अनुरोध र घुर्की दुवैलाई बेवास्ता गरेपछि महानगरको कार्यपालिका करिब ७ महिना बन्धक बनेको हो । तर अब बालेनसँग विकल्प थिएन । किनभने काठमाडौँ महानगरपालिकाले असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट पास गर्नैपर्ने कानुनी बाध्यता थियो ।
बजेट बाध्यताले बालेनले कार्यपालिका ‘आइस ब्रेक’ भएको वडाध्यक्षहरू बताउँछन् । ‘२ वर्ष सजिलै चलेको कार्यपालिका पछिल्लो समय बन्धक भएको थियो । तर अब यसको ब्रेक भएको छ । कार्यपालिका चल्नु नै खुसीको कुरा हो,’ महानगरका वडाध्यक्ष चिनीकाजी महर्जनले भने ।
….अनि उठेर हिँडे बालेन
शुक्रबारको कार्यपालिकामा बालेन न आफू बोले न अरूलाई बोल्न दिए । बोल्न सुरु गरेको १ मिनेट ८ सेकेन्डमा उनले बैठक सके । सो क्रममा उनले आइतबार दिउँसो २ बजे नगर सभाको घोषणा गरे । त्यसका लागि सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने बताए । उनले ‘२४ वटा विषय भए पनि अहिलेलाई एउटा गर्ने कुरा भएको छ,’ भन्दै बैठक टुङ्ग्याए । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उक्त विषय टिपोट गरेपनि बोलचाल भने भएन ।
उनले उपप्रमुख सुनिता डंगोललाई सम्बोधन गरे पनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने सम्बोधन गरेनन् । यस अगाडिका बैठकहरूमा प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्ने गरेका थिए । उनले आज एकमुष्ठरुपमा ‘कर्मचारीज्यूहरू’ भन्दै सम्बोधन गरेका हुन् ।
यसो त काठमाडौँको कार्यपालिका सुरु हुनु अगाडि नै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बालेन र उपप्रमुख सुनिता डंगोललाई केही समय कुर्नु परेको थियो ।
‘हामी आएको १५ मिनेट जति पछि ३२ नम्बर वडाध्यक्ष नवराज पराजुली आए, त्यसपछि प्रमुख प्रशासकीय अधिकृत, त्यसपछि उपप्रमुख र मेयर आएका हुन् । त्यतिन्जेल बालेनले आजको एजेन्डामा सहमति खोजेको बुझिएको छ,’ एक कार्यपालिका सदस्यले भने ।
बालेनले बैठकमा समेत उपप्रमुखसँग मात्रै कुरा गरेर अन्य विषय नराख्ने बताएका थिए । ‘बोल्ने क्रममा नै अन्य विषय नराख्ने भन्दै उपप्रमुखसँग कुरा गरेर उहाँ बैठक तत्काल सकाएर हिँड्नुभएको हो,’ बैठकमा बसेका एक कर्मचारीले बताए ।
कार्यपालिका सदस्यहरूले भने बालेनले लामो समयपछि बैठक बोलाएकोले पहिलो कुरामा सहमति गरेर धेरै कुरामा छलफल गर्ने तयारी गरेका थिए । ‘२४ वटा प्रस्ताव तयार भएकोमा एउटा पेस भयो, त्यही मात्रै पारित भयो, अरू कुरामा प्रवेश गर्ने त मौकै मिलेन । मेयरले सोही अनुसार मनस्थिति बनाएर आएका रहेछन् ’ महानगरका एक वडाध्यक्षले भने ।
कार्यपालिका सदस्य बालेन उठेर हिँड्नुलाई अनौठो मान्दैनन् । ‘उनको कसैलाई नटेर्ने स्वभाव छ, बैठक नै राख्दिन भनेर अडान लिइरहेका बेला बैठक राखे यही ठुलो कुरा हो । फेरि उपप्रमुखज्यू र केही वडाध्यक्षहरूसँग आज नगर सभाको विषयमा मात्रै छलफल गरौँ भनेर बैठकको सहमति भएको रहेछ,’ एक सदस्यले भने, ‘तर विविधमा भए पनि केही विषय त राख्न पाउनुपर्थ्यो । हामी त हेरेको हेर्यै भइयो ।’
उपप्रमुखको ‘डिल’ सफल
विवादका बिच बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसहितको बैठक राख्ने कुरामा मेयर कन्भिस भएकोमा उपप्रमुख सुनिता डंगोल पनि खुसी भएकी छिन् । ‘अहिले उपप्रमुखको जिम्मेवारी बजेट निर्माणमा कानुनी औपचारिकता पुरा गर्नमा धेरै छ । त्यस कारण एकदम दौडधुप मै हुनुहुन्छ । तर एउटा कुरा के हो भने बजेट पनि ल्याउने, गुरागाईंलाई पनि बैठकमा राख्न सक्ने गरी उहाँले डिल गर्न सक्नु भयो,’ उनी निकट एक वडाध्यक्षले भने ।
प्रमुख बालेनसँग उपप्रमुख डंगोलले बजेटका सन्दर्भमा पटक पटक वार्ता गरिन् । २२ असारमा आन्तरिक कलह केही समयलाई टुङ्गो लगाएर बजेट ल्याउने कुरामा मेयर, उपमेयरको लगभग सहमति भएको थियो । कार्यपालिका २५ गते ११ बजे बोलाउने सहमति समेत भएको थियो । यसको लागि प्रमुख प्रशासकीय अधिकृतलाई सरोज गुरागाईं आफैं ‘ब्याक’ हुन तयार भएका थिए । तर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सहितको छलफल हुन आवश्यक रहेको भन्दै त्यसको लागि मेयर तयार हुनुपर्ने बताइन् ।
आज शुक्रबारसम्म पास हुने तयारी गरेको बजेटमा डंगोलले गुरागाईं ब्याक नहुने गरी डिल गरिन् । ‘प्रमुख प्रशासकीय अधिकृत कानुनी रूपमै सदस्य सचिव हुने भएकोले अस्वीकार गर्न सकिन्न । उहाँ सहित बैठक राखौँ र यो जीत हारको कुरा होइन,’ छलफलका क्रममा सुनिताले बालेनलाई भनेकी थिइन् । त्यसपछि बालेन पनि कन्भिन्स हुँदै बैठक राख्न तयार भएको स्रोतको भनाइ छ । सोही अनुसार शुक्रबार मेयरले एउटा मात्रै एजेन्डा राख्न प्रस्ताव गर्दा उपप्रमुख पनि तयार भएकी हुन् ।
बजेटमा पूर्वाधार मात्रै ५१ प्रतिशत
यसैबीच आइतबार आउने महानगरपालिकाको बजेटमा पूर्वाधार क्षेत्रमा मात्रै ५१ प्रतिशत विनियोजन हुने भएको छ ।
बजेटको मिति तय हुनुअघि काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको हो । बालेनको अध्यक्षमा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको छ ।
बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।