छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षमाथि भ्रष्टाचारको आरोप लगाउँदै मोसो दलेर दुर्व्यवहार

 संवाददाता    २०८२, २७ असार शुक्रबार ११:३३     200 जनाले पढ़िसके



Spread the love

पोखरा । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पोखराको छोरेपाटन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि भ्रष्टाचारको आरोप लगाउँदै मोसो दलेर दुर्व्यवहार गरेका छन् । क्रान्तिकारी गण्डकी प्रदेशका कार्यकर्ताले शुक्रबार बद्रीनाथ पहारीमाथि मोसो दलेका हुन् ।

करिब २२ सय विद्यार्थी पढ्ने विद्यालयको मुख्य आयस्रोत व्यक्तिगत स्वार्थपूर्तिको लागि केही माफियासँग मिलेर पातले छाँगो पोखरा महानगरपालिका हुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको भन्दै पहारीमाथि दुर्व्यवहार गरिएको हो ।

अखिल क्रान्तिकारी गण्डकी प्रदेश संयोजक राजन साउदले विज्ञप्ति निकालेर घटनाको जिम्मा लिँदै सांकेतिकरूपमा कारबाही गरेको दाबी गरेका छन् । उनले सम्झौतामा हस्ताक्षर गर्ने प्रअ विल्लीराम शर्मालाई समेत राजीनामा दिन चेतावनी दिएका छन् ।

छाँगोको सञ्चालन र व्यवस्थापन २०३४ सालदेखि छोरेपाटन माविले गर्दै आएको छ । महानगनरले सेती क्यान्योन प्रालिलाई छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालन गर्न ४० वर्षका लागि सम्झौता गरिएको छ ।

विद्यालय पनि यसअघि नै महानगरलाई छाँगो सञ्चालन गर्न दिन राजी भइसकेको छ । २०८० साउन १० गते पोखरा महानगरका जनप्रतिनिधि, कर्मचारी, कम्पनीका अध्यक्षसँग बसेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी, पूर्वअध्यक्षहरु झपिन्द्रराज रेग्मी, तीर्थराज अधिकारीले सम्झौता गरिसकेका छन् ।