युक्रेनी गुप्तचर अधिकारीको राजधानी किभमा गोली हानी हत्या

 संवाददाता    २०८२, २७ असार शुक्रबार ०७:५२     315 जनाले पढ़िसके



Spread the love

युक्रेनको राजधानी किभमा एक वरिष्ठ युक्रेनी गुप्तचर अधिकारीको दिनदहाडै गोली हानी हत्या भएको अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा देखिएअनुसार, युक्रेनको आन्तरिक सुरक्षा सेवा (एसबीयू) का ती एजेन्टलाई एक अज्ञात आक्रमणकारीले पार्किङमा गाडीभित्रै धेरै गोली हानेर फरार भएका थिए।

गुप्तचर निकायले पीडितको पहिचान खुलाएको छैन, तर युक्रेनी सञ्चार माध्यमहरूले उनको नाम कर्णेल इभान भोरोनिच भएको बताएका छन्।

एसबीयू मुख्यतया आन्तरिक सुरक्षा र प्रतिगुप्तचरसम्बन्धी कार्य गर्दछ । तर, २०२२ मा रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि यसले रुसभित्रै हत्या र आक्रमणहरूमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।

युक्रेनको सुरक्षा सेवाका स्रोतहरूले सञ्चार माध्यमहरूलाई डिसेम्बर २०२४ मा उच्च पदस्थ रुसी जनरल इगोर किरिलोभको हत्यामा आफूहरूको संलग्नता रहेको बताएका थिए। यस वर्षको सुरुमा जनरल यारोस्लाभ मोस्कालिकको मस्कोमा कार बम आक्रमणमा हत्या भएको थियो – जुन घटनाको लागि क्रेमलिनले किभलाई दोषी ठहराएको थियो। युक्रेनको सुरक्षा सेवाले यी मृत्युहरूको जिम्मेवारी आधिकारिक रूपमा स्वीकार गरेको छैन।

एसबीयू वा किभ प्रहरी कसैले पनि गोलीकाण्डको सम्भावित कारणबारे केही बताएका छैनन् ।