भिजिट भिसा प्रकरणमा प्रचण्डले स्विकारे कमजोरी, विद्या–नारायणकाजी भेटबारे के भने ?

 संवाददाता    २०८२, २६ असार बिहीबार २०:३०     339 जनाले पढ़िसके



Spread the love

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई हेर्ने दृष्टिकोण एउटै भएको निष्कर्ष निकालेका छन् ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा भण्डारी सक्रिय राजनीतिमा फर्किएको सम्बन्धमा ब्रिफिङका क्रममा प्रचण्डले यस्तो निष्कर्ष निकालेका हुन् । पूर्वराष्ट्रपति पुनः राजनीतिमा फर्किनु एमालेको आन्तरिक विषय भएकाले अहिले नै हतारिएर धारणा बनाउन नहुने प्रचण्डले बताएका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘समसामयिक राजनीतिबारे विश्लेषण गर्ने क्रममा अध्यक्षले विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको विषयमा बैठकलाई ब्रिफिङ गर्नुभएको थियो । सोही क्रममा उहाँले माओवादीलाई हेर्ने वैचारिक र राजनीतिक दृष्टिकोणमा ओलीजी र विद्यामा केही फरक छैन । पात्र फरक हुन् । विचार, दृष्टिकोण र एजेण्डागत रूपमा तात्त्विक भिन्नता नभएकाले पार्टी एकता भइहाल्छ भन्नु उचित हुँदैन । बाँकी कुरा एमालेको आन्तरिक विषय भएकाले अहिले नै हतार गरेर बोल्नु आवश्यक छैन भन्नुभयो,’ उनले भने ।

यसैबिच वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्वराष्ट्रपति भण्डारीबिच वाम एकताको विषयमा छलफल भएको भनिएको विषयमा अध्यक्ष प्रचण्डले बैठकमा प्रस्टीकरण दिएका छन् । उनले वरिष्ठ नेतालाई वाम एकताका लागि नपठाएको तर भण्डारी चीनबाट फर्किएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठबिच भेट भएको कुरा आएकाले पार्टीले वक्तव्य निकालेको प्रचण्डले प्रस्टीकरण दिएका गजुरेलले बताए ।

‘हाम्रा वरिष्ठ उपाध्यक्ष र पूर्वराष्ट्रपतिबिच वाम एकताको विषयमा छलफल भएको कुरा उठेपछि यसबारे अध्यक्षले प्रस्टीकरण दिनुभएको हो,’ उनले भने, ‘यस विषयलाई लिएर भ्रम सिर्जना भएपछि पार्टीले वक्तव्य निकाल्नुपरेको हो, मैले पठाएको होइन । यस विषयमा नारायणकाजी फर्किएर आएपछि स्थायी कमिटीमा कुरा गरौँला ।’

भिजिट भिसा प्रकरणमा कमजोरी मुहसुस

यस्तै भिजिट भिसा प्रकरणमा पार्टीले लिएको अडानले बाहिर भ्रम सिर्जना भएको प्रचण्डले स्वीकार गरेका छन् । जेठ १३ गते बसेको पदाधिकारी बैठकले छानबिन समिति गठन आग्रह गर्नुपर्नेमा गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाउनु कमजोरी भएको सचिव गंगानारायण श्रेष्ठले बताए ।

‘गृहमन्त्रीको राजीनामालाई पार्टीले बटमलाइन बनाउनुभन्दा छानबिन समितिको माग गरेको भए बाहिर भ्रम पर्ने थिएन । भिजिट भिसा प्रकरणमा दुईबुँदे सहमतिलाई लिएर पार्टीभित्र र बाहिर पनि भ्रम पर्न गयो । पछि विस्तारै ती भ्रम हट्दै गएको छ । त्यसमा केही कमजोरी भएको अध्यक्षले महसुस गर्नुभयो,’ श्रेष्ठले भने ।

उपमहासचिव गजुरेलले पनि गृहमन्त्रीको राजीनामा र उच्चस्तरी संसदीय समिति गठन पार्टीको बटमलाइनबाट माओवादी किन पछि हट्यो भन्ने जनमानसमा भ्रम पर्न गएको प्रचण्डले कमजोरी स्विकारेका बताए ।

‘सुरुमा किन गृहमन्त्रीको राजीनामा र उच्चस्तरी संसदीय छानविन समिति गठनलाई बटमलाइन बनायो । तर किन पछि हट्यो ? कमजोर छानबिन समितिले पार्टीभित्र र बाहिर कन्फ्युज भयो । पहिले नै छानबिन समिति गठन माग गरेको भए जनमानसमा भ्रम पर्ने थिएन । दुईबुँदे सहमतिले विस्तारै भ्रम हट्दै गएको कुरा अध्यक्षले बैठकमा राख्नुभयो,’ उनले भने ।

आजको बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच अन्तरविरोधबारे कुनै छलफल नभएको नेताहरूले बताएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव शर्मालगायत ५-७ जना नेताहरू अनुपस्थित भएकाले कुनै छलफल नभएको उनीहरूको भनाइ छ ।

यस्तै केन्द्रीय समिति बैठक, अभियानको समीक्षा, अन्तरविरोधको हल, एकता प्रकृयामा आएका नेताहरूको जिम्मेवारीलगायत विषयमा साउनमा बस्ने स्थायी समिति बैठकले निर्णय लिने उपमहासचिव गजुरेलले जानकारी दिए ।

यसैगरी बैठकले एकता प्रक्रियामा जोडिएका नेपाल समाजवादी पार्टी(नेसापा) गंगानारायण श्रेष्ठ समुहका १५ जना नेताहरूलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

वैकल्पिक केन्द्रीय सदस्यहरूमा कृष्ण कुमार भण्डारी (काभ्रे), मीनबहादुर दर्जी (झापा), कृष्ण सापकोटा (बागलुङ), मोदनाथ तिमल्सिना (सिन्धुली), प्रमिला यादव (धनुषा), मेघराज तामाङ (रामेछाप), डा. जयनारायण यादव (सिरहा), राजु महर्जन (काठमाडौँ), टीका कन्दङ्वा (तेह्रथुम), अनिता थिङ (काभ्रे), शंकर अधिकारी (धादिङ), बद्री विलास मिश्र (लमजुङ), शोभा माझी (सिन्धुली), राकेश साह (महोत्तरी), राजन कुमार दनुवार (डोने) (उदयपुर) रहेका छन् । यसअघि श्रेष्ठलाई सचिव बनाएको थियो ।

१५ जनालाई केन्द्रीय सदस्य र दुई जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो ।