त्रिभुवन विश्वविद्यालयको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट पास गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्षको बजेट पास गरेको हो ।
रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले सभामा बजेट वक्तव्य प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको बजेट जुन चालु आर्थिक वर्षको तुलनामा ७.४८ प्रतिशतले बढी हो ।
उक्त बजेटमा त्रिविको आफ्नै स्रोतबाट ४९.३९ प्रतिशत र नेपाल सरकारबाट ५०.६१ प्रतिशत हुनेछ । त्रिविले आन्तरिक स्रोतबाट १३ अर्ब ८८ करोड ९३ लाख ७२ हजार र नेपाल सरकारबाट १४ अर्ब २३ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
कुल बजेटको ८५.१२ प्रतिशत र पुँजीगत खर्चतर्फ कुल प्रस्तावित बजेटको १४.८८ प्रतिशत हुन आउनेछ ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १२ अर्ब ८१ करोड ५५ लाख ४१ हजार रुपैयाँ अनुदान छुट्याएको छ । उक्त रकमको अवस्थालाई हेर्दा प्रस्तावित बजेटमा १ अर्ब ४२ करोड ९ लाख ८ हजार रुपैयाँ कम हुने देखिएको छ ।
महँगी भत्ता वृद्धि गरे अनुरूप त्रिविका शिक्षक तथा कर्मचारीका लागि सोही व्यवस्था अनुसार उपलब्ध गराउनुपर्ने भत्ता र यस वर्षको आवश्यक ग्रेड रकम समावेश नगरिएको रजिस्ट्रार रिजालले बताए ।
त्यसका लागि आवश्यक थप रकम करिब ६३ करोड र बाँकी न्यून बजेट ७९ करोड ८ लाख ८ हजार गरी कुल १ अर्ब ४२ करोड ०८ लाख ०८ हजार नेपाल सरकारबाट थप व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । उक्त रकम नेपाल सरकारबाट प्राप्त हुन नसकेमा सञ्चालन खर्चमा व्यवस्था भएको रकम कटौती गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना हुने उनको भनाई थियो ।
शिक्षक तथा कर्मचारीलाई प्रविधिमैत्री बनाउँदै दक्षता अभिवृद्धि गर्नका निम्ति तालिम, सेमिनार तथा गोष्ठीका लागि १७ करोड ४३ लाख ४० हजार विनियोजन गरिएको छ । अनुसन्धान तथा विकासका लागि यो वर्ष ३७ करोड ७ लाख २३ हजार छुट्याएको छ ।
कूल बजेटको १।३१ प्रतिशत रकम अनुसन्धान कार्यमा खर्च गर्ने व्यवस्था मिलाएको छ । यस वर्ष सूचना प्रविधि प्रशासनिक संयन्त्र व्यवस्थापनको लागि २ करोड विनियोजन गरिएको छ ।