दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल पुनः पक्राउ

 संवाददाता    २०८२, २६ असार बिहीबार ०९:०५     184 जनाले पढ़िसके



Spread the love

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ। उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ गरिएको हो ।

युनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएको थियो। उनले डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लागू गरेका थिए।

सिओलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले बुधबार उनलाई पक्राउ गर्न आदेश दिएका हुन्। अदालतले युनले प्रमाण नष्ट गर्न सक्ने डर रहेको बताएको छ। युनमाथि ‘विद्रोहको नेतृत्व’ गरेको आरोपमा मुद्दा चल्नेछ।

बुधबार भएको सात घण्टा लामो सुनुवाइमा विशेष अभियोजन टोलीले युनलाई पक्राउ गर्न पाँचवटा मुख्य आरोपहरू प्रस्तुत गरेको थियो।

उनलाई पहिलोपटक जनवरीमा पक्राउ गरिएको थियो। त्यतिबेला प्रहरीले उनको घरको तारबार काटेर उनलाई नियन्त्रणमा लिएको थियो। दुई महिनापछि अदालतले प्राविधिक कारण देखाउँदै रिहा गरेको थियो।

यदि अदालतले उनलाई दोषी ठहर गरेमा उनलाई आजीवन जेल वा मृत्युदण्डसमेत हुन सक्छ।

अभियोजन पक्षले युनले उत्तर कोरियामा प्रतिक्रिया उक्स्याउन सैन्य ड्रोन पठाउन आदेश दिएको प्रमाण भेटिएको बताएको छ। सैनिक शासन घोषणासँग सम्बन्धित अन्य वरिष्ठ अधिकारीहरूमाथि पनि विद्रोह र अधिकार दुरुपयोगको मुद्दा दायर गरिएको छ।

दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे-म्युंग जुनमा भएको आकस्मिक चुनावपछि निर्वाचित भएका हुन्। उनले लोकतन्त्र सुदृढ गर्ने वाचा गर्दै युनमाथि विशेष छानबिन टोली गठन गरेका थिए।