नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले राजतन्त्र पूर्व राजालाई चाहिएको हो कि राप्रपालाई चाहिएको हो ? भनेर प्रश्न गरेका छन् ।बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक समेत रहेका घिमिरेले राप्रपालाई यस्तो प्रश्न गरेका हुन् ।
‘उहाँहरू राजा चाहियो भनेर हिँड्नुभएको छ । मैले बुझेको छैन, नेपालमा राजतन्त्र पूर्व राजालाई चाहिएको हो कि उहाँहरूलाई चाहिएको हो ?’, घिमिरेले भने, ‘कसलाई चाहिएको हो ? मलाई त लाग्छ पूर्वराजा आफ्नै व्यापार व्यवसायमा रमाएर बसिरहनुभएको छ तर उहाँलाई जबरजस्ती धकेलिरहनुभएको छ । ’
उनले किन चाहियो राजा ? भन्दै प्रश्न गर्दै नेपाली कांग्रेसले ६० वर्षसम्म संवैधानिक राजतन्त्र बोकेको बताए । सांसद घिमिरेले संसद् बहिस्कार र लाञ्छित गर्ने काम आपत्तिजनक रहेको बताउँदै रास्वपाप्रति पनि प्रश्न गरे । उनले गएको तीन वर्षमा रास्वपाले सैद्धान्तिक अवधारणा अहिलेसम्म प्रस्ट गर्न नसकेको बताए ।
उनले कसैलाई खुइल्याउने र स्टन्टबाजीमा रास्वपा रमाइरहेको भन्दै लोकतन्त्र र संविधानप्रति उसको स्पष्ट धारणा आउनुपर्ने बताए ।