फ्रान्सको जंगलमा लागेको डढेलो मार्सेलीसम्म पुग्यो, विमानस्थल र रेल सेवा बन्द

 संवाददाता    २०८२, २५ असार बुधबार १२:००     158 जनाले पढ़िसके



Spread the love

दक्षिणी फ्रान्सको जंगलमा लागेको भीषण डढेलो दिनप्रतिदिन घातक बन्दै गइरहेको छ । डढेलो फैलिँदै गएर यसको प्रभाव फ्रान्सको ठुलो सहर मार्सेली नजिक देखिन थालेको छ ।

डढेलोलाई ध्यानमा राखेर सरकारले मार्सेली विमानस्थल बन्द गरेको छ भने सबै उडानहरू रोकिएका छन् । मिडिया रिपोर्टका अनुसार यो डढेलो मार्सेली सहर नजिकै रहेको पिन–मिराबो नामक ठाउँबाट देखिन सुरु भएको थियो । छिटोछिटो आगो फैलिँदा रेल सेवाहरू पनि बन्द गर्नुपरेको छ भने धेरै प्रमुख सडकहरू पनि बन्द गरिएको छ ।

बढ्दो डढेलो नियन्त्रण गर्न सरकारले ७२० अग्नि नियन्त्रक र २२० भन्दा बढी दमकल र मेसिनहरू परिचालन गरेको छ । डढेलोले अहिलेसम्म करिब ७०० हेक्टर जंगल जलेको प्रशासनले बताएको छ ।

स्थिति बिस्तारै नियन्त्रणमा ल्याउने प्रयास भइरहेको पनि बताइएको छ । वन डढेलोको बढ्दो घटनाहरूलाई विज्ञहरूले जलवायु परिवर्तन, अत्यधिक गर्मी र सुख्खा मौसमको परिणाम मानेका छन् । तीव्र तातो हावा, सुख्खा मौसम र बढ्दो तापक्रम वनमा आगलागी फैलिनुको मुख्य कारण बन्दै गएको पनि भनिएको छ ।