नाइमाले भन्यो, ‘रसुवागढीको बाढीले सवारीसाधन आयातमा ठूलो अवरोध सिर्जना’

 संवाददाता    २०८२, २५ असार बुधबार ११:४७     191 जनाले पढ़िसके



Spread the love

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढीमा मंगलवार आएको बाढीले सवारीसाधन आपूर्तिमा ठूलो अवरोध सिर्जना भएको बताएको छ ।

विभिन्न चाडपर्व नजिकिँदै गर्दा बाढीको कारण नाका नै बन्द हुँदा चीनबाट सवारी साधन तथा अन्य सामान आपूर्तिमा ठूलो समस्या निम्त्याएको नाइमाले जनाएको छ ।

नाइमामा अध्यक्ष ऋतु सिंह वैद्यले एक विज्ञप्ति जारी गर्दै बाढीले पु-याएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । उनले रसुवागढी भन्सारमा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको बताइन् ।

चीनबाट नेपालमा भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन रसुवागढी भन्सार हुँदै आयात हुने गरेको उनको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ,‘ चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन् । यसले न केवल आयातकर्तालाई आर्थिक धक्का पुर्याएको छ, चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ ।’