सर्वोच्चका नवनियुक्ति तीन न्यायाधीशका लागि तोकियो इजलास

 संवाददाता    २०८२, २४ असार मंगलवार १३:२७     284 जनाले पढ़िसके



Spread the love

सर्वोच्च अदालतमा नयाँ नियुक्त भएका ३ जना न्यायाधीशका लागि इजलास तोकिएको छ । नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले मंगलबारदेखि मुद्दाको सुनुवाइ गर्न सुरु गरेका हुन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट न्यायाधीशमा नियुक्त भएका उनीहरू प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएर आजदेखि काममा लागेका हुन् ।

नवनियुक्त न्यायाधीशहरुले मंगलबार कार्यभार सम्हाल्दै पेसीको गोलामा भाग लिएका हुन् । गोलाप्रथाबाट मंगलबार सर्वोच्चमा एक पूर्णसहित १० वटा इजलास र २९४ वटा मुद्दाको पेसी तोकिएको छ ।

नवनियुक्त तीनै न्यायाधीशहरू संयुक्त इजलासमा सुनुवाइ गर्दै छन् । पहिलो दिन पौडेल न्यायाधीश मनोजकुमार शर्मासहितको चार नम्बर इजलासमा २४ वटा मुद्दाको सुनुवाइ गर्दै छन् । थापा कुमार चुडालसहितको पाँच नम्बर इजलासमा ३० वटा मुद्दा र पोखरेल विनोद शर्मासहितको आठ नम्बर इजलासमा २८ वटा मुद्दाको सुनुवाइ गर्दै छन् ।