लाश जल्दाजल्दै त्रिशूलीमा बग्यो चिता

 संवाददाता    २०८२, २४ असार मंगलवार ११:१३     408 जनाले पढ़िसके



Spread the love

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ एक आफन्तको बिहान ५ बजे निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो। बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिए।

 

‘शव त लगभग जलिसकेको अवस्था थियो, चिता भने अझै बाँकी थियो। त्यही बेलामा बाढी आएर बगायो,’ उनले भने ।

वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्य कैद गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

 

गाउँपालिका अध्यक्ष थपलियाले नदी किनार क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्पूर्ण पालिका क्षेत्रमा पूर्व सूचना दिइसकेको बताए। ‘हामी पनि सचेत भएर दाहसंस्कारमा सहभागी भएका थियौं,’ उनले भने, ‘चिता नै बाढीले बगायो। तर हामी सबै सुरक्षित छौं।’

चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ ।

सोही बाढीको प्रभाव त्रिशूली नदीमा पनि देखिएको हो ।