नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिको रिले अनसन जारी रहेको छ । रत्नपार्कमा २१ दिनदेखि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिको रिले अनसन जारी राखेको हो ।
उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने बताएको छ ।
समितिले यसले व्यवसायीहरूलाई धेरै मर्का पर्ने बताएको छ । उनीहरुले कानुन बमोजिम नगद सरह सम्पत्तिको व्यवस्था कार्यान्वयन गर्न, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्रणाली खारेज गरी २५,५० र १०० ग्रामका सुनका टुक्राहरू पान नम्बर र कर चुक्ताका आधारमा गहना उत्पादक तथा कालीगढ र आम व्यवसायीहरूले आफ्नै क्षेत्रमा सहज रूपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन कानुन निर्माण गर्न माग गरेका छन् ।